किन रुन्छौं साइँला
सबैको हालत त्यस्तै हो
घामपानी दिनरात भैरहन्छ
भातखुलाई न्वारन राम्रै हुन्छ
बढ्दै जान्छ चढ्दै जान्छ ।
कस्को घरमा शान्ति छ र
नभई नहुने माया बैगुनी
बाआमा रुवाउनु रुवाउँछन्
परकालाई नजिक अँगाल्छन्
ज्वाइँ बन्छन्, बुहारी बन्छन् ।
के रहन्छ र घरमा बाँकी
विदेशको त के कुरा गरौं
ताक परे तिवारी नत्र गोतामे
न त आशाको भाषा छ
बोल्छन् तातो आलु खाएजस्तो ।
कपडा लाउँछन् टालेको
ढाक्न पर्ने जिउ उघार्छन्
न बुझ्छन् संस्कार संस्कृति
बोल्दा लंका भ्याउछन्
घरको सिन्का भाँच्दैनन् ।
अबेर आउने, बिहानभरि सुत्ने
बा बूढो काम गएपछि उठ्ने
दिनभरि फोनमा झुन्डिने
आमाले पकाएको ल्याप्पै खाने
झाडीतिर भुस्सा तान्ने ।
सबै सुतेपछि घर आउने
किचन चार्ने, जुठाे भाँडो छाड्ने
एक दिन होइन दुई दिन
बाआमाले कति खप्ने
आमा डिप्रेसन बा झोक्रिँने ।
कस्ले बुझ्ने पीर मर्का घरको
पढेका छन्, टोपी ओढेका छन्
म्याकडोनल्डमा चीप्स भुटेका छन्
के गरोस् त जागीर पाउँदैन
सबै उस्तै त छैनन् है ।
आमा क्लिनर छोरी डाक्टर छन्
एकै हस्पिटलमा जोतिएका छन्
कसैको जीवन राम्रै चल्दैछ
आशा नगर साइँला, मन बुझाऊ
यताउता जताततै त्यस्तै ।
भेडेटार, सिक्लेस छाडी हाल्यौं
चौटा खान गएकि झोलमा
हालत त्यस्तै हुने हो कि
उमेर पुगेका बिहे त भयो
रंगीचंगी न भाषा न धर्म ।
जानेलाई डार्लिङ भयो
बाआमा नपेलिएको पिना भयो
अझै के–के देख्नु पर्ने हो
आइस खाइस भन्छन् मान्छे
नेपालमै बसेर नि के हुन्थो र ।
धेरै भयो साइँला, अब नरौं
छोराछोरी पाहुना हुन्, सेवा गर
दुःख त दिइरहन्छन् बाबै
शुद्धोधनलाई धुरुक्क रुवाएकै हो
बुद्ध भएर सिद्धार्थले माफ पाए ।
हाम्रो पनि केही हुने पो हो कि
खोला फर्कन्छ भन्छन्
नमरी बाँचे कालले साँचे
आशामा बाँच्ने गर साइँला
आँशुमा होइन बाबै ।