पोखरा । नेपाली सिनेक्षेत्रका कलाकार, निर्देशक, निर्माताको एक टोलीसहित सिक्लेसमा पुगेर नेपाली फिल्मको बारेमा छलफल गरेको छ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा उक्त कार्यक्रम भएको हो । तीनदिने कार्यक्रमअन्तर्गत आइतबार विभिन्न चार सेसनमा वक्ताहरु गफिए ।
पहिलो सेसनको सुरुमै संचारकर्मी प्रकाश सुवेदीले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीलाई प्रश्न गरे–बोर्डमा गइसकेपछि काम गर्न नसकेको हो ?
उक्त प्रश्नको जवाफमा अभिनेतासमेत रहेका केसीले आफूले सकेजस्तो काम गर्न नसकेको स्वीकारे । उनले चलचित्र विकास बोर्ड संचार मन्त्रालयमा हराएको अनुभव सुनाए ।
‘सरकार र सिनेमा: हिजो, आज र भोलि’ सेसनमा बोल्दै उनले भने, ‘नेपाली फिल्मको गन्तव्य कहाँ होला भनी खोज्न गएको थिएँ, बोर्ड त संचार मन्त्रालयभित्र हराएको रहेछ ।’ उनले बोर्ड जबसम्म स्वायत्त हुन सक्दैन, नेपाली फिल्मको विकास पनि हुन नसक्ने बताए ।
चलचित्र ऐन, २०२६ अझसम्म कार्यान्वयन हुनु दुखद हो भने । उनले फिल्म ब्याक एण्ड ह्वाइडबाट कलरमा आइसक्दा पनि त्यही ऐनमै भर परिरहनु परेको भन्दै नयाँ ऐन कार्यान्वयनका लागि संचारमन्त्रीसँग कुरा भइरहेको बताए ।
निर्देशक एवं कलाकार दीपाश्री निरौलाले सरकारले फिल्मलाई प्राथमिकतामै नराखेको गुनासो गरिन् । उनले प्राथमिकताको रुपमा फिल्मलाई राख्नुपर्नेमा जोड दिइन् । उनले कलाकार, प्राविधिक लगायतलाई तालिमको खाँचो औंल्याइन्न ।
चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं कलाकार आकाश अधिकारीले चलचित्र उद्योगलाई उद्योगमात्र ठानेर यसलाई सशक्त माध्यमको रुपमा सरकारले अघि बढाउनुपर्छ भनी आफूहरु लागिरेकोमा २०७६ सालमा राष्ट्रिय प्राथमिकता उद्योगसम्म गएको बताए । चलचित्र विकास बोर्डले आफ्नो भवन निर्माण गरेर विकास गरे पनि अरु विकास हुन सकेको टिप्पणी गरे ।
अर्को सेसन सिनेमाभित्र म, मभित्र सिनेमा सेसनमा अभिनेता भुवन केसी र अभिनेत्री गौरी मल्लले आफ्नो विगत सुनाए । उनीहरुले रमाइला कुरादेखि चलचित्रको विकासको चिन्ता पनि गरे ।
नेपाली सिनेमाको स्वाद विषयक सेसनमा अनुप बराल, दीया मास्के र मनोज पण्डितले नेपाली फिल्मले अझै खास स्वाद दिन नसकेको टिप्पणी गरे । निर्देशक मनोज पण्डितले फिल्मको स्वाद हस्पिटलको खानाको स्वादसँग दाँज्नुपर्ने अवस्था आएको टिप्पणी गरे । उनले फिल्मका पात्र निर्देशक र लेखकबाट निर्देशित भएको बताए । उनले भने, ‘नेपाली फिल्म आइ लव युभन्दा माथि उठेन । त्यसभन्दा माथि उठेर आई एम हुमन भन्ने कहिले आउँछ ?’ उक्त सेसनमा सहजकर्ता थिए, पत्रकार सुरज सुवेदी ।
निर्देशक एवं लेखक प्रकाश सायमीले व्यवसाय र कला: प्रविधि र प्रवृत्तिबारे आफ्नो विचार व्यक्त गरे ।
कार्यक्रममा सिक्केसवासीको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमका लागि पोखरा र काठमाडौंबाट समेत संचारकर्मी आएको चलचित्र पत्रकार संघ कास्की अध्यक्ष प्रभू अधिकारीले बताए ।
मादी गाउँपालिका वडा १ का वडाध्यक्ष देवीजंग गुरुङले सिंगो सिने क्षेत्रको टिम सिक्लेसमा पाउँदा सिनेमाबाट अब गाउँको विकासमा टेवा मिल्ने विश्वास गरे । सिक्लेस गुरुङ फिल्मका नायक गोरे गुरुङको गाउँ हो । अधिकांश गुरुङ बस्ती रहेको सिक्लेसमा ३० घर होम स्टे सुविधा छ ।
सोमबारसम्म चल्ने कार्यक्रममा नेपाली फिल्म प्रदर्शनी एवं पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम छ ।