लन्डन । प्रकाश सपूतको परिचय फराकिलो छ । नेपाली लोकदोहोरी क्षेत्रमा लोकप्रिय गायक उनी संगीतकार, मोडल तथा अभिनेतासमेत हुन् । उनी अभिनीत फिल्म ‘परदेशी–२’ गएको दसैंमा निकै रुचाइयो ।
हालैमात्र बेलायत आएका उनी करिब एक दर्जन कार्यक्रम गरेर स्वदेश फर्किएका छन् ।
बेलायतस्थित केप्लर इभेन्ट्स आयोजनामा दोस्रो पटक यहाँ आएका उनले पहिलोपटक गत अगष्टमा आउँदा अल्डरसटको एम्पायर हलमा एउटा मात्र कार्यक्रम गरेर फर्किएका थिए ।
क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा ‘मह जोडी टुर २०२३’ सिलसिलामा विभिन्न शहरमा करिब एक दर्जन कार्यक्रम गर्न भ्याएका हुन् ।
उनले गत डिसेम्बर २३ मा लण्डनको ह्यारो लिजर सेन्टरमा पहिलो कार्यक्रम गरेका थिए भने १३ जनवरी साँझ अल्डरसट एम्पाएर हलमा अन्तिम कार्यक्रम गरे । लन्डनबाहिर लिभरपुलमा सोमबार साँझ उनले बेलायत बसाइँको अन्तिम प्रस्तुति दिएर स्वदेश फर्किएका हुन् ।
ह्यारो, अल्डरसट, प्लमस्टेड, आसफोर्ड, स्वीन्डन, बेजिङस्टक, बर्मिंङहाम, स्कटल्याण्ड, लिभरपुल लगायतका थुप्रै स्थानमा यस पटक उनले कार्यक्रम गर्न भ्याए । तीन साता बेलायत बसाइँमा उनले आफ्ना लोकप्रिय गीतमार्फत बेलायतका सबै उमेर समूहका दर्शक स्रोतालाई मनोरञ्जन दिलाए । गीतसंगीतमार्फत मानिसका भोगाइ, पीर अनि व्यथा उजागर गर्दै आएका उनले विशेषगरी विदेशमा बस्ने नेपालीको व्यथा केन्द्रित आफ्ना गीतहरु गाएर दर्शकलाई मार्मिक र भावुक बनाए ।
पछिल्लो समय उनको ‘मुटु कटक्कै’ युट्युव ट्रेन्डिङमा छ । छोटो समयमा झन्डै ५० लाख दर्शकले हेरिसकेका छन् । ‘बोल माया’ गीतबाट चर्चाको शिखरमा पुग्न सफल गायक सपूत त्यसयता भने पछाडि फर्किनुपरेको छैन ।