पोखरा । ‘कन्दरा सांगीतिक अभियान–२०८०’ गृहनगरी पोखराबाट सुरु भएको छ । ‘पहिला घरदेश अनि परदेश’ सन्देशसहित कन्दरा करिब २० वर्षपछि सांगीतिक प्रस्तुति लिएर फर्किएको हो ।
शुक्रबार राति नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा लिड भोकलिष्ट विवेक श्रेष्ठलगायतले करिब साढे ३ घण्टासम्म १० हजार दर्शकलाई लगातार झुमाइरहे ।
भोकलिष्ट विवेकसहित सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले चलेका र नयाँ गरी करिब २ दर्जन गीत गाए । उनीहरुले ‘तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छी,’ ‘लेककी हे माया,’ ‘तिमी पारि,’ ‘विदेशीएर गइन् उनी’ ‘विचरा म’ लगायत गीत सुनाए ।
आयोजक पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कन्सर्ट भव्य भएको बताए । पर्यटन उद्यमसँग सम्बद्ध १४ संस्थाको आबद्धता रहेको छाता संगठन परिषद् आयोजक र लायन्स क्लब अफ पोखरा सामीप्य सहआयोजक रहेको कन्सर्टको शुभारम्भ पोखरादेखि सुरु भएको हो । यस्तोखालका कन्सर्ट देशका सातै प्रदेश र मुख्य सहरमा पुग्नेछ ।
पर्यटन उद्यमको पुनर्जागरण गरी पर्यटकीय गन्तव्यस्थलको सन्देश दिने, पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने, घुमफिर संस्कृति एवं दिगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवं गीतसंगीतको जगेर्ना गर्ने उद्देश्यले ‘कन्दरा सांगीतिक अभियान–२०८०’ गरिएको आयोजकले जनाएको छ ।
कन्दराले अहिलेसम्म ६ एल्बम र सयौं गीतसंगीत बजारलाई दिइसकेको छ । मुलुकभित्र र बाहिर गरी २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ ।