नौ महिनाको कठिन अनि अत्यासलाग्दो प्रसव पीडा कटाएर
जीवनको उतारचढाबसँगै दस धारा दूध अनि आँशुको भेल बगाएर
जन्माउनु भयो, हुर्काउनु भयो, राम्रो संस्कार दिलाएर
त्यसैले त आज म यति सक्षम भएकी छु धेरै त नभनौं आफ्नो घर परिवार समाल्ने भएकी छु ।
हुर्किए मेरा सारा बालापन हजुरको काख अनि लाखमा
हुन दिनुभएन केही कमी मेरो गाँस अनि कपासमा
सधैं दिनुहुन्थ्यो हौसला मेरो प्रगति अनि उन्नतिको
त्यसैले त म आज यति सक्षम भएकी छु धेरै त नभनौं दुई छाक टार्न अनि एकसरो लाउन पाउने भएकी छु ।
भागवत गीता, स्वस्थानी अनि रामायणको कथा सुनाउँदै
हजुरको कविता अनि लोरिको साथमा हरेक रात निदाउँदै
दिलाउनु भयो धर्मकर्ममा आस्था अनि विश्वास
त्यसैले त म आज यतिको सक्षम भएकी छु धेरै त हैन धर्म कर्ममा आस्था राख्ने भएकी छु ।
दु:खमा नआत्तिनु सुखमा नमात्तिनु भन्ने सिख सिकाउँदै
पसिना अनि पौरखको फल मीठो हुन्छ भन्ने मन्त्रलाई पढाउँदै
देखाउनु भयो सधैं स्वाभिमानी, स्वाधिन अनि कर्मशीलको बाटो
त्यसैले त म यतिको सक्षम भएकी छु धेरै त हैन आफ्नो कर्तव्य चिन्न सक्ने भएकी छु ।
दिनुहुन्थ्यो आशीर्वाद सदासुहागन, चन्द्रमा दाहिना अनि पूरा होस हर मनोकामना भनी
किल्चिएर होइन, होचिएर होइन, अग्लिएर जिउनु पर्छ भनी
हरेक ब्यथालाई चिथोरेर सुनजस्तै स्वर्णिम हुनु भनी
त्यसैले त म आज यति सक्षम भएकी छु धेरै त हैन पौरखमा विश्वास गर्ने भएकी छु ।
भन्नुहुन्थ्यो सधैं मुस्कान कठिन समयको प्रतिक्रिया हो भनी
अनि भन्नुहुन्थ्यो मौनता गलत प्रश्नको सही जवाफ हो भनी
पछ्याउँदै गए हजुरले देखाउनु भएको मार्गदर्शनको बाटो
त्यसैले म आज यति सक्षम भएकी छु धेरै त हैन सही र गलत छुटाउन सक्ने भएकी छु ।
आयो टप्प टिपेर लग्यो मिति पुग्यो टारेर नटर्ने रहेछ त्यो
मनको कुरा मनमा नै रह्यो निर्दयी भगवानले अन्याय नै गर्यो
बिलायो, हरायो हजुरको साथ समीप आशीर्वाद अनि माया
त्यसैले त म आज यति कमजोर भएकी छु हजुरकै यादमा मुटु चुँडाउन बाध्य भएकी छु ।
हरेक रात परेलीको डिल भिजाउँदै निम्तो दिन्छु हजुरलाई सपनीमा
स्वर्गमा सुख मिलोस् भनी भावपूर्ण श्रद्धाञ्जली गर्छु विपनीमा
रित्तिएको घर आँगनले अझै पनि गर्दै छन् हजुरको आगमनको प्रतीक्षा
त्यसैले त म सारै नै दुखी भएकी छु मेरो हरेक सासले हजुरलाई नै खोजिरहेकी छु ।
न फोन कल न कुनै चिट्ठी न त आउँछ कुनै सन्देश
थाहा छैन हेर्न मन छ कस्तो होला त्यो स्वर्ग भन्ने देश
न त चारैतिर खोजेर नै पाउने न त रुँदा, कराउँदा नै आउने
त्यसैले आज म यति कमजोर भएकी छु हजुरको वियोगमा पागलसरि भएकी छु ।
यो जुनीमा त्यस्तै भयो आमा अर्को जुनी फेरि लिन पाउँ
सात जुनी नपाए नि एक जुनी हजुरको कोखमा जन्म लिन पाउँ
प्रण गर्छु हजुरको अधुरो, अपूरो सबै सपना पूरा गर्ने
त्यसैले त म यति कठोर भएकी छु मनको बह लुकाएर मुस्कुराउने कोसिस गर्दै छु ।
उही सधैं हजुरको प्रार्थना
गरिरहने छोरी
बिनु गुरुङ
एजवेर लन्डन