पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी अभियोगमा शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले बुधबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उक्त सहकारी ठगीमा १९ जना प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । यसअघि सोही प्रकरणमा सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल थुनामा गइसकेका छन् । अझै १५ जना फरार छन् ।
फरारमध्ये सहकारी पूर्व सञ्चालक समिति सदस्यसमेत रहेका महेन्द्र भोटे र सञ्चालक समिति सदस्य भविश्वर अर्याल मंगलबारमात्र अदालतमा आफैं उपस्थित भएका थिए । उनीहरुको मंगलबार बयान लिइसकेपछि बुधबार थुनछेक बहस भएको हो ।
प्रतिवादीमध्ये भोटेको तर्फबाट वरिष्ठ अधिवक्ता निर्मलबहादुर कार्की, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, रोहितराज बास्तोला र विष्णुप्रसाद शर्माले बहस गरेका थिए । यस्तै, अर्यालको तर्फबाट नारायणप्रसाद पौडेल र तुलसीराम काफ्लेले बहस गरेका थिए । निवेदकको तर्फबाट सरकारी वकिल सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा, विपीनराज तिवारी र अधिवक्ता युवराज पराजुलीले बहस गरेका थिए ।
जिल्ला सरकारी वकिल कार्यालयले१९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ३ सय ६५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जिबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सहकारी सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना बचतकर्ताको बचत डुबेको हो ।