पोखरा । गुरुङ जातिको बाहुल्य रहेको गण्डकी प्रदेशमा गुरुङ समुदायले विविध कार्यक्रम गरी तमु ल्होछार मनाएका छन् ।
यो पर्व मनाउनेक्रममा पोखराका विभिन्न संघसंस्थाले संस्थागत रुपमै विभिन्न कार्यक्रम गरे । पोखरामा प्रधान कार्यालय रहेको तमु धिं नेपालले आइतबार बिहानैदेखि क्होइबो, गुम्बामा ग्रहशान्ति, पूजापाठ, बत्ती बाली गुरु एवं अग्रज पुज्ने काम गरेको गोर्खा मिडियाका सम्पादक एवं तमु धिं नेपाल अध्यक्ष हुम तमुले बताए । उनका अनुसार दिउँसो पोखरा रानीपौवाबाट तमु ल्होछार शुभकामना पदयात्रा निकालिएको थियो । पदयात्रा सहरका विभिन्न भाग परिक्रमा गरी नयाँबजारस्थित तमु धिं कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । जहाँ सम्मान एवं विभिन्न सांस्कृतिक कार्यक्रम भए ।
प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङको देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि जातीय संस्कृति खुलेर मनाउन पाएको बताइन् । उनले जातीय संस्थामा नेतृत्व गर्ने व्यक्तिहरु कानुन बनाउने तहसम्म यही कारण पुगेको बताइन् । संसारभर छरिएर रहेका गुरुङ समुदाय एक भएमा भाषा, संस्कार, संस्कृति जोगाउन सकिने प्रदेशसभा सदस्य गुरुङले सुनाइन् । उनले ल्होसार र ल्होछारमा मतभिन्नता नराख्न पनि आग्रह गरिन् । उनले भनिन्, ‘अहिले ल्होसार र ल्होछारमा निकै भिन्नता पाइएको छ, यो आ–आफ्नो ठाउँबाट अपभ्रंस भएको हो । यसलाई ठूलो समस्या रुपमा लिनु हुँदैन ।’ उनले अगाडि प्रस्ट पार्दै भनिन्, ‘जसरी दसैँ, विजयादशमी र वडा दसैँ भनिन्छ, तिहारलाई दीपावली, भाइटीका पनि भनिन्छ त्यस्तै हो ‘ल्होसार’ र ‘ल्होछार’ ।’
शनिबार राति नै बिरालो वर्गलाई बिदाई, गिद्ध वर्गको स्वागत गर्न राति १२ बजे बोन फायर पनि गरिएको तमु धिं नेपाल महासचिव हर्क गुरुङले बताए । आइतबार बिहानैदेखि घ्याब्री, प्हच्यु र बोन लमहरुबाट पूजा गरी रिपा लगाउने कार्यक्रम पनि भएको थियो । तमु धिं नेपाल अध्यक्ष हुम तमुले ल्होछारकै अवसरमा सोमबार पोखरामा परम्परागत छेलो प्रतियोगिता गरिने बताउँछन् ।
पोखरा १० स्थित बौद्ध अर्घौ सदनले बिहानैदेखि ग्रहशान्ति दशाको पूजा गरेको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए ।
गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथार गण्डकी प्रदेशकै लमजुङ जिल्लामा पर्छ । क्व्होलासोथारबाट गुरुङ समुदाय देशका विभिन्न भागमा छरिएका हुन् ।
गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ अथवा फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
बाह्र राशि जस्तै गुरुङ जातिमा १२ पशुपंक्षीको नाममा १२ वटा वर्ग विभाजन गरिएको छ । सोही वर्ग आधारमा १५ पुसदेखि बिरालो वर्ग सकिएर गिद्ध वर्गसमेत सुरु भएको छ ।