लन्डन । जाजरकोट भूकम्पपीडितको सहयोगार्थ लन्डनमा च्यारिटी गजल साँझ तयारी गरिएको छ ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदअन्तर्गत महिला फोरम आयोजना एवं युरोप महिला संयोजक प्रसुना कँडेलको संयोजनमा आगामी ९ जनबरीमा उक्त साँझ हुन लागेको हो । उक्त साँझ ह्यारोको ब्लु रुम स्पोर्टस् हलमा हुनेछ ।
गजल सांझमा नेपाली गायनमा पृथक पहिचान बनाएका चर्चित गजल गायक राज सिग्देल र बेलायतस्थित गजलकार सन्जिता देउजा र नारायण गाउँलेका गजल सुन्न पाइनेछ । कार्यक्रमलाई एनआरएनए यूकेले पनि साथ दिएको पत्रकार सम्मेलन गरी जनाइएको हो ।
सो अवसरमा उनले बीबीसीको १०० प्रभावशाली महिला लिष्टमा परेकी सपना रोका मगरलाई सम्मान पनि गरिने कार्यक्रम संयोजक प्रसुनाले बताइन् ।
गजल गायक राज सिग्देलले आफूले सांच्चिकै कलात्मक कार्यक्रम गर्न सकिन्छ कि भन्ने विश्वास लिएको बताए ।
गजलकार तथा लेखक नारायण गाउँलेले साँझमा आफूले गजल सुनाउन पाउँदा खुशी लागेको बताए ।
एनआरएनए यूके महासचिव गोविन्द खरेलले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएमा सबैभन्दा सक्रिय समिति महिला समिति रहेको भन्दै कार्यक्रमको सफलताको कामना गरे ।
एनआरएनएकी अन्तर्राष्ट्रिय महिला संयोजक अनुजा प्रधानले गजल कार्यक्रम राम्रो उद्देश्यका लागि भइरहेको भन्दै न्यानो कपडाका लागि १० लाख जति उठाइसकेको बताइन् ।
एनआरएनए युरोप संयोजक डा. चिरन्जीवी खड्काले कार्यक्रम सफलताको कामना गरे । एनआरएनए यूकेकी महिला संयोजक रोजिना गुरुङ, युरोप उपसंयोजक महेश अधिकारी, युरोप सचिव भुवन अर्यालसहित पत्रकारहरु सहभागी थिए ।
जाजरकोटसहित रुकुम पश्चिमा गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको थियो । कैंयौं भूकम्पपीडित अहिले पनि जाडोमा रात कटाइरहेका छन् । उनीहरुलाई न्यानो कपडा संकलनमा च्यारिटी सहयोगसिद्ध हुने आयोजकको विश्वास छ । कार्यक्रमबाट बचत रकम भूकम्पपीडित महिला बालबालिकाका लागि न्यानो कपडा, पछ्यौरा, स्यानिटेरी प्याड, चप्पल र दूध प्रदानमा सहयोग गरिनेछ ।