पोखरा । तमु जातिको महान पर्व नयाँ वर्ष मुप्ह्री ल्हो तमु ल्होछार अवसरमा तमु धीं नेपालले पाेखरामा विविध कार्यक्रम गर्ने भएको छ ।
हि ल्होको बिदाइ र मुप्ह्री ल्हो तमु ल्होछार कार्यक्रम अन्तरगत पुस १४ गते तमु ह्युला चोकमा सरसफाई, दिउँसाे तमु धीं नेपालमा स्वास्थ्योपचारका लागि विभिन्न बिरामीहरुलाई सहयोग हस्तान्तरण हुनेछ ।
बेलुका तमु ह्युल चोकमा दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गण्डकी प्रदेस सभा सदस्य गणेशमान गुरुङको प्रमुख आतिथ्यमा हुने भएको छ । उक्त कार्यक्रमपश्चात पोखरा ९ नयाँबजारस्थित तमु धीं नेपालमा स्योकैं कार्यक्रम आयोजना गरिएको तमु धीं नेपालले जनाएको छ ।
ल्होछारको दिन तमु धीं नेपालले पोखरा रानीपौवाबाट ल्होछार शुभकामना र्याली सुरु गरी महेन्द्रपुल, नयाँबजार हुँदै तमु धीं नेपालमा पुगी ल्होछार विशेष कार्यक्रम हुने जनाएको छ ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा तमु धीं नेपालको केन्द्रिय सदस्यमा मनोनीत सदस्यको सपथ ग्रहण हुनेछ । साथै वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, अधिवक्ता अनिता गुरुङ, चलचित्रकर्मी माओत्से गुरुङ, गायक धनबहादुर गुरुङ, शान्ति गुरुङ, समाजसेवी सरिता गुरुङ, समाजसेवी पुरनधोज गुरुङ लगायतलाई सम्मान प्रदान गरिनेछ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
पुस १६ गते तमु धींमा पूर्व मन्त्री वेदबहादुर गुरुङको प्रमुख आतिथ्यमा परम्परागत छेलो प्रतियोगिता हुनेछ ।
तमु धीं नेपालमा २२ मनोनीत
संस्थाको कार्यसमितिमा २२ जना मनोनयन गरिएको छ । संस्थाको १६ औंं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठकले क्षेत्रीय तमु समाजहरु, विभिन्न संस्था एवं क्षेत्रका व्यक्तित्वहरु मनोनयन गर्दै तमु धीं नेपालको कार्यसमितिलाई पूर्णता दिएको हो । उनीहरुलाई ल्होछारका दिन तमु धिंमा आयोजित समारोहमा सपथ ग्रहण गराइने अध्यक्ष हुमबहादुर गुरुङले बताए ।
संस्थाको केन्द्रीय सदस्यमा तमु धीं नेपाल प्रवास शाखा साउदी अरबका तर्फबाट क्या.कमल गुरुङ, शान्ति रुपा बराहथोक तमु समाजकी काशीमाया गुरुङ, गुरुङ लाम्छाने समाज नेपालका कृष्णकुमार गुरुङ, मिरुवा तमु समाजका खर्कमान गुरुङ, सोंपाल तमु समाजकी चिनु गुरुङ, घाचोक लाम्छाने तमु समाजका जगतबहादुर गुरुङ, तमु धीं नेपाल केन्द्रीय आमा समितिकी टीका गुरुङ, तमु सहयोग समिती पार्दीका ध्रुव गुरुङ, तमु सेवा समिति नयाँबजारकी बालकुमारी गुरुङ, मिलिजुली विजयपुर तमु समाजकी बालकुमारी गुरुङ मनोनीत भएका हुन् ।
यस्तै, चारभन्ज्याङ तमु समाजकी बिना गुरुङ, कोल्माबहाकोट तमु समाजकी बिमला गुरुङ, तमु ह्युला धीं तालबेंशीका विष्णु गुरुङ, हिमाली गुरुङ परिवारकी लक्ष्मी गुरुङ, चिउली पाचे तमु समाजका लेखबहादुर गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका श्रीजङ गुरुङ, तमु (गुरुङ) कलाकार संघ गण्डकीका सुरेन्द्र गुरुङ, ताङतिङ दुधपोखरी तमु समाजका सुवेदार जसबहादुर गुरुङ, तमु सेवा समिति नयाँबजारकी हरिमाया तमु, नागबेली तमु समाजकी हिरादेवी गुरुङ, श्री सोंपाल तमु समाजकी हुमकुमारी गुरुङ, तनहुँ तमु समाज ज्ञानसिंङ गुरुङ मनोनीत भएका छन् ।