पोखरा । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्कीले मुप्रि ल्हो गरुड वर्ग ल्होसारै आशिमाला एवं धन्यवाद ज्ञापन कार्यक्रम गरेको छ ।
संस्थाले तान्चोक नौजे पंगी लामा मूल धीं, समाजघर, पोखरामा कार्यक्रम आयोजना गरी हि ल्हो अर्थात् बिरालो वर्गको बिदाइ एवं मुप्री ल्हो अर्थात् गरुड वर्गको ल्होसार अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
परिषद् कास्की अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदय सरस्वती गुरुङले अग्रजले देखाएको असल बाटोमा निरन्तर हिंडिरहेकोले अहिले अधिकार पाउने अवस्थामा आएको बताइन् ।
परिषद्का पूर्व महासचिव खड्कबहादुर गुरुङले संस्था स्थापनकालबाटै तमुहरुको हकअधिकारको लागि लड्दै आएको स्मरण गरे । उनले भने, ‘विगतका संघर्षका क्रममा सबैले ल्होसार मनाउने भनेरै भन्यौ र त्यो स्वीकृति पनि भएको थियो ।’ अहिले कतिले ल्होसार र कतिले ल्होछार भनेर विवादका कुरा गरेकोमा दुःख व्यक्त गरे । उनले यस््तो गर्नुको पछाडि तमुहरुमा विभाजन गर्न खोखिएको आशंका गरे ।
केन्द्रीय सहमहासचिव मनोज गुरुङले अझैं पनि आफुहरु अधिकार सम्पन्न नभए पनि विगतका आन्दोलनले एकात्मक राज्य प्रणालीलाई विस्थापन गरेको, ल्होसारलाई राष्ट्रिय पर्व बनाउन सफल भएको र आदिवासी गठन हुनु उपलव्धि भएको बताए । उनले छिट्टै तमु धीं नेपाल तथा परिषद्बीच एकता हुने बताए ।
सिम्पानी तमु समाजका अध्यक्ष गंगाबहादुर तमुले सबै तमुहरुलाई एकतामा रहन आग्रह गरे ।
तमु धीं नेपालका उपाध्यक्ष श्रीप्रसाद गुरुङले तमुका मुद्दा एउटै भएकाले तमुहरुको मत पनि सोही अनुसार अगाडि बढ्नुपर्ने बताए । उनले आफ्नो संस्कार, संस्कृति र परम्पराको जगेर्नामा दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
ज्ञानुबाबा आवासीय माविका संस्थापक कृष्णबहादुर गुरुङले राष्ट्रिय रुपमा जिउँदो संस्थाको रुपमा परिषद् सक्रिय रहेकोमा खुसी व्यक्त गरे । तर उनले तमुहरु पछाडि पर्नुमा अरु नभई आफ्नै कमजोरी हो भने ।
पोखरामा सम्पन्न भएको परिषदको केन्द्रीय पाषद् सभाका सहयोग गर्ने सहयोगदाता, संस्थाहरु तथा तमु समाज र दाताहरुलाई मायाको चिनो र खादा लगाई सम्मान गरिएको थियो । यस्तै कलाकारहरुको सहयोगको लागि नगद सहयोग गरेका चिजकाजी गुरुङ लगायतलाई पनि परिषदका कास्की अध्यक्ष सीता गुरुङले सम्मान गरिन् ।
कार्यक्रममा सहभागीलाई परिषद्की प्रचार सचिव खीमा गुरुङले स्वागत गर्दै मौलिक संस्कार, संस्कृति र आफ्नो परम्पराको रक्षाका लागि सबै एक हुनुपर्ने बताइन् । कार्यक्रम सञ्चालन सचिव आशबहादुर गुरुङले गरेका थिए ।