काठमाडौं । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले ६ जना पत्रकारलाई तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।
संघ काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट हिरालाल गुरुङ –चितवन) र एमबी आस्था (मानबहादुर घर्तीमगर) (कास्की) लाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि जनही २० हजार छ ।
त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रत्ना गुरुङ (स्याङ्जा), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कार्टुनिष्ट अनुप गुरुङ (काठमाडौं), सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट करिश्मा गुरुङ (तनहुँ) पुरस्कृत भए । पुरस्कारको राशि जनही १० हजार छ ।
उता, तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट तेह्रथुमका पत्रकार विकास गुरुङ पुरस्कृत भएको छन् । उनलाई १२ हजार ५ सयसहित पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका संयोजक अनिता गुरुङले बताइन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले उनीरुलाई सो पुरस्कारबाट पुरस्कृत गरे । उनले पत्रकारले खोजमूलक समाचार लेखेर नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिए ।
संघ अध्यक्ष लाला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा अनिता गुरुङ, पुरस्कृत हुनेमा एमवी आस्था मगर, करिश्मा गुरुङ, अनुप गुरुङले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा गुरुङ न्युज डट कम नामक पत्रिका पनि लोकार्पण गरिएको थियो ।