लन्डन । बेलायतमा ‘मह जोडी टुर–२०२३’ भव्य रुपमा सफल भएको छ । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सम्मिलित कलाकारको प्रस्तुतिमा शनिबार लन्डन ह्यारो लेजर सेन्टर र आइतबार अल्डरसटस्थित एम्पायर हल खचाखच भयो ।
सो अवसरमा मह जोडीले आफ्नो बेजोड प्रस्तुति दिएर बेलायतवासी सयौं नेपालीको मन जिते । दुवै कार्यक्रममा मह जोडीले नेपालमा बढ्दै गएको भ्रष्टाचार र बेथितविरुद्ध चोटिलो प्रहार मात्र गरेनन्, आफ्ना चर्चित गीत पनि गाएर दर्शक नचाए ।
मह जोडीले बेलायतका दर्शककै लागि तयार गरेका ‘नयाँ प्याकेज’ प्रस्तुत गरेका थिए । प्रसिद्ध अंग्रेजी गीत ‘जिङ्गल बेल’ गाउँदै गरेका हरिवंश आचार्य छोराको भूमिकामा थिए भने मदनकृष्ण बाबुको भूमिकामा थिए ।
मदनकृष्णले आफ्ना सात पुस्तालाई पुग्ने सम्पत्ति आफूले कमाइ दिएको बताउँदै गर्दा ‘छोरा’ हरिवंशले चाहिँ भ्रष्टाचारको पैसा आफूलाई नचाहिने बरु बाबुलाई नै जेल पठाउने चेतावनी दिए ।
४५ वर्षदेखि सहकार्य गरेको मह जोडीले अर्को प्रहसन ‘प्रश्नोत्तर’ मा दिवंगत राजा वीरेन्द्रदेखि नेपालमा हाल प्रतिबन्धित टिकटकका मालिकको जिज्ञासा चिनियाँ भाषामा प्रस्तुत गर्दै रोचक जवाफ पनि दिएका थिए । उनीहरुले नेपाली युवा रुसी सेनामा भर्ना हुन जाने अवस्था कसरी आयो भन्दै प्रश्न गरेका थिए ।
७३ वर्षीय कलाकार मदनकृष्णले ‘फूलबुट्टे सारी’ गीत गाउन थालेपछि दर्शक स्टेजमै नाचेर उनलाई साथ दिएका थिए ।
अर्का कलाकार हरिबंशले ‘साझा बसमा जो पनि चढ्दछ’ लगायत गीत सुनाउँदा माहोल निकै तातेको थियो ।
चर्चित गायक प्रकाश सपूतल ह्यारोमो पनि महसँगै नेपाली दर्शकलाई नचाए । सपूतले ‘डाँडाघरे साइँली’, ‘फूलमाया’ लगायत चर्चित गीतहरु गाएर दर्शकको मन जिते ।
दुवै कार्यक्रममा मदनकृष्णका छोरा यमन, छोरी सराना, शर्मिला बर्देवा र अल्डरसटमा अघिल्लो सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिए ।
कार्यक्रम आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भिम तामाङले बेलायतस्थित नेपाली समुदाय, संघसंस्था तथा समस्त दर्शकलाई धन्यवाद दिए । उनले दर्शक माया र सहभागिताले मह टुर भव्य भएको बताए ।
ह्यारोमा उपस्थित बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय मेयर, अतिथि र अल्डरसटमा सहभागी दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, मिडवे काउन्सिल मेयर निना गुरुङ लगायत प्रायोजक सबैमा उनले आभार व्यक्त गरे ।
द गोर्खा सेन्टरले गोर्खा भेट्रानहरुको सहयोगार्थ ‘मह टुर’ आयोजना गरेको थियो ।
वरिष्ठ कलाकार हरिवंश आचार्य र जीवनसंगीनी रमिला बुधबार बिहान अमेरिका प्रस्थान गरेका छन् । अर्का कलाकार मदनकृष्ण र छोरी सराना बिहीबार नेपाल फर्कने छन् ।
तस्बिरः कुशल श्रेष्ठ