पोखरा । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई प्रदान गरिने भएको छ ।
लेखनाथ पत्रकार मञ्चले पत्रकारिताबाट लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पुर्याएका पत्रकारमध्ये प्रत्येक वर्ष १ जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएकोमा यसपालि परियारलाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ ।
डेढ दशकअघि जनदिशा राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका परियार हाल कान्तिपुर दैनिकमा आबद्ध छन् । सामाजिक न्याय, सुशासन, मानवअधिकार, पर्यटन, वातावरण, कला, साहित्य, खेलकुद लगायत विषयमा कलम चलाउँदै आएका उनी पत्रकार महासंघ कास्कीका पूर्व सहसचिवसमेत हुन् । उनी राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्षसमेत छन् । परियार यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट खेल पत्रकारिता पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीबाट उत्कृष्ट खेल पत्रकार अवार्ड, सहारा खेल पत्रकारिता पुरस्कार, बाबा–आनन्द सञ्चार पुरस्कार, मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार, सुनास सुशासन पुरस्कार लगायतबाट सम्मानित भइसकेका छन् ।
पुरस्कार कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौ अर्चलेमा प्रदान गरिनेछ ।
पुरस्कार छनोट समितिमा मञ्च अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार बासुदेव पौडेल र संस्थापक अध्यक्ष भीमपाणि बराल थिए ।