पोखरा । १९ औं लेखनाथ महोत्सवको पाँचौ दिन सोमबार दर्शकको अत्यधिक भिड भएको छ । शनिबार मात्रै ४० हजार दर्शक महोत्सव अवलोकन गर्न आएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघको दाबी छ।
सोमबार क्रिसमस डे अर्थात् सार्वजनिक बिदा पनि परेकोले दर्शक संख्या बढ्नुका साथै कारोबार समेत वृद्धि भएको प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । सोमबार १ करोडभन्दा बढी आर्थिक कारोबार भएको छ । बिहीबारदेखि सुरु महोत्सवमा हालसम्म ३ करोडको कारोबार भएको छ ।
सोमबार लोकदोहोरी कलाकार सम्झना लामिछाने मगर, जीवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुति दिएका थिए । साँझ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कँडेल लगायतले स्टेज तताएका थिए । आयोजक दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई निम्तो दिँदै दर्शकलाई प्रशस्त मनोरञ्जन दिने गरेको छ । मंगलबार रचना रिमाल आउने छिन् ।
महोत्सवमा रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुति लगायत पनि भएका छन् । यही पुस १६ सम्म संचालन हुने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रम भइरहेका छन् ।
दुई दशकअघि सुन्तला मेलाबाट सुरु भएको लेखनाथ महोत्सव पछिल्लो समय महोत्सवको पनि महोत्सवको रुपमा चिनिन्छ । यहाँको महोत्सव हेर्न कास्की सहित विभिन्न छिमेकी जिल्लाहरुबाट पनि दर्शक आउने गर्दछन् ।