पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी फागुनमा हुने १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि वैकल्पिक रुट अध्ययन सुरु गरेको छ । म्याराथनको अन्तर्राष्ट्रिय चर्चा बढेसँगै सडक सुरक्षा र प्राकृतिक दृष्यलाई आकर्षण गराउने लक्ष्यसहित वैकल्पिक रुटको अध्ययन सुरु गरेको हो ।
यसबारे मञ्चले पोखरा वडा २३ मा छलफल समेत गरेको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सफल पोखरा म्याराथनलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ नयाँ रुटको अध्ययन सुरु गरेको जानकारी दिए । उनले रुटको अनुगमन गर्दै वातावरणको हिसाबले समेत निकै उत्कृष्ट रहेको सुनाए ।
‘सडक सुरक्षा मुख्य कुरा हो धावकका लागि । हामीले म्याराथन गरिरहँदा अब पहिलो जस्तो रहेन । विश्व म्याराथन र एम्ससँग जोडिएपछि यसको उचाइ बढेको छ, त्यसैले पनि हामी बढी हौसिएका छौं,’ उनले भने, ‘हामीले सुरक्षा र प्रकृति २ कुरालाई जोड दिँदै वैकल्पिक रुटको खोजी गरिरहेका छौं ।
म्याराथन थप रोमाञ्चक बनाउन बजारसँगै ग्रामीण इलाकालाई समेत छुने प्रयास मञ्चले गरेको छ । महिला हाफ म्याराथनका लागि समेत सोही रुटतर्फ रहेको छ । यस्तै अन्य १० किमी, ५ किमीको दौडको समेत वैकल्पिक रुट खोजी भइरहेको छ ।
मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले म्याराथनका लागि नयाँ रुटको अध्ययन गरेको सुनाए । उनले सिटी म्याराथन अवधारणालाई आत्मसात गर्दै धावकका लागि थप ट्राफिक सुरक्षा दिने हेतुले नयाँ रुटको अध्ययन गरेको बताए ।
मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले मञ्चले म्याराथनलाई व्यवस्थित बनाउँदै स्वच्छ वातावरणमा दौडाउने प्रयास गर्दै वैकल्पिक रुटको खोजी गरेको बताए ।
फागुन ५ गते पोखरामा हुने म्याराथनमा विभिन्न ७ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसमा खुलातर्फ ४२ दशमलब १९६ किमीको खुला म्याराथन, महिलातर्फ २१ किमीको हाफ म्याराथन, पुरुषरमहिला १० किमी, छात्रछात्रा ५ किमी, महिला पुरुष भेटेरान्स ५ किमी, महिला पुरुषतर्फ ह्विलचियर र दृष्टिविहीन दौड प्रतियोगिता हुनेछ । साथै रन फर फन पनि हुनेछ ।
आयोजकले पुरस्कारको लागि मात्रै १८ लाख १६ हजार खर्चिने मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले बताए ।