लन्डन । नेपालबाट गायक सविन गुरुङ र लोक दोहोरी गायिका निर्जला गुरुङ बेलायत आइपुगेका छन् ।
गोरखा जिल्ला गुरुङ समाज युकेको निमन्त्रणमा सविन र निर्जला शुक्रबार २२ डिसेम्बरमा बेलायत आएका हुन् । कलाकारहरुलाई स्वागतका लागि समाजका अध्यक्ष गौतम गुरुङ, पदाधिकारी तथा सदस्यहरु मिनप्रसाद गुरुङ, कुमारी गुरुङ, राजकुमार गुरुङ, शेरबहादुर गुरुङ, मिन गुरुङ, रेशम गुरुङ, गोलमान गुरुङलगायत विमानस्थल पुगेका थिए ।
गायक सविन गुरुङले एयरपोर्टसम्मै आएर स्वागत गर्ने समाजका अध्यक्ष र पदाधिकारी तथा सदस्यमा धन्यवाद व्यक्त गरेका छन् ।
उनीहरुले शनिबार ३० डिसेम्बरमा फेल्थाम लन्डनमा हुने गोरखा जिल्ला गुरुङ समाजको कार्यक्रममा प्रस्तुति दिनेछन् । त्यसका साथै अन्य कार्यक्रमहरु पनि तय भएको आयोजकहरुले जनाएका छन् ।
सविन गुरुङ मौलिक गीत र लोकदोहोरी क्षेत्रमा परिचित छन् । गोरखामा जन्मिएका सविन उद्घोषण कला पनि भएका व्यक्ति हुन् ।
पछिल्लो पुस्तामा लाइभ दोहोरीबाट चिनिएकी छिन् निर्जला । दुवै कलाकारले आफूहरु बेलायत आउन भिसा पाएकोले उत्साही रहेको प्रतिक्रिया जनाएका छन् ।
गुरुङ समुदायले यस वर्ष बिरालो बर्ग बिदाइ र मुप्री ल्हो (गिद्ध बर्ग) को स्वागत गरी ल्होछार/ल्होसार मनाउँदै छन् । तमुहरुले नेपाली मितिअनुसार हरेक वर्ष पुस १५ लाई नयाँ वर्ष सुरुआतको दिन मान्ने चलन छ ।