काठमाडौं । गायिका पवित्र गुरुङ सांगीतिक कार्यक्रमका लागि हङकङसहित बहराइन जाने भएकी छन्।
गुरुङहरुको महान पर्व ल्होसार अवसरमा गुरुङ फिल्म एसोसिएन हङकङ (जिफाह) को संयोजकत्वमा विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा उनी त्यसतर्फ जान लागेकी हुन् ।
उनका अनुसार तमु समाज हङकङले २५ डिसेम्बरमा, तमु ट्हो ह्युल हङकङकले ३१ डिसेम्बरमा र तमु प्ये ल्हु संघ हङकङले १ जनवरीमा तमु ल्होसार कार्यक्रम गर्दै छन् । उनी ती सबै कार्यक्रममा आफ्नो गायन प्रस्तुति लिएर दर्शकलाई भरपूर मनोरञ्जन दिन उत्साहित छन् ।
गत वर्ष भएको द भ्वाइस अफ नेपाल सिजन–४ की प्रतिस्पर्धी पवित्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित गोल्फुभञ्ज्याङकी हुुन् । हाल काठमाडौंमा संगीत सिकिरहेकी उनको भर्खरै नयाँ सांगीतिक कोसेली सार्वजनिक भएको छ ।
रेवास गुरुङ र उनको संयुक्त गायनमा ‘मारै ट झलल’ (सुनको फूल झलल) बोलको गुरुङ गीत उनको आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो । भिडियोमा पवित्रलाई सुन्दर अभिनय गरेको पनि देख्न सकिन्छ।
ड्रिमर्स ब्यान्डबाट परिचित यी गायिकाको पहिलो पप प्याटर्नको ‘नक्कली कान्छी’ २०७६ सालमा सार्वजनिक भएको थियो । विविध विधामा गाउन रुचाउने उनी नेपाली सांगीतिक क्षेत्रमा उदीयमान गायिका हुन्।
यस्तै, बहराइनमा तमु समाज बहराइनले जनवरी ४ र १२ तारिखमा कार्यक्रम गर्ने भएको छ । जसमा पवित्रासहित नेपालका चर्चित लोकलोकदोहोरी गायक चिज गुरुङ र रोधीं कार्यक्रम सञ्चालिका बालकाशी गुरुङको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।