लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लन्डन आइपुगेका छन् ।
‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन् । महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन् । महजोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सीईओ भीम तामाङलगायत स्वयंसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए ।
लन्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, "बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो । रमाइलो हुन्छ । अल्डरसट र ह्यारोमा अवश्य आउनु होला ।"
यसैगरी हरिवंश आचार्यले भने, "यहाँहरुसँग भेट्नलाई हामी बेलायत आइपुग्या छौं । भेटम्ला, रमाइलो गरम्ला । राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि चेन्ज भएको छैन । सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो । विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ ।" उनले विमान स्थलमा आफूहरुलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिँदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीईओ भिम तामाङले तयारी धमाधम भइरहेको बताए । महजोडी टुरअन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपराह्न ४ बजेदेखि ह्यारोस्थित ह्यारो लिजर सेन्टर र दोस्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपराह्न ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।
ह्यारोमा चर्चित लोकदोहोरी गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् । द गोर्खा सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ ।
कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मद्दत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ ।