काठमाडौं । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिप्रति चर्को आलोचना भएको छ ।
उनले एक कार्यक्रममा ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भनी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सद्भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी भएको भन्दै नागरिकस्तरबाटै चर्को आलोचना भएको हो । त्यसको विरोधमा काठमाडौंका विभिन्न ठाउँमा बिहीबार उनीविरुद्ध नाराबाजी भएको छ ।
राप्रपाले एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने भएको भन्दै आपत्ति जनाएको छ । विज्ञप्ति जारी गर्दै राप्रपाले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति मन्त्री पदमा रहिरहन उपयुक्त नहुने भन्दै तुरुन्त किरातीलाई बर्खास्त गर्न पनि माग गरेको छ ।
पार्टी प्रवक्ता मोह कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन । तसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ ।’
यसैबीच, राप्रपा नेपालका जनवर्गीय संगठनले काठमाडौं चावहिलमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेका छन् । ओमकार परिवार र सनातन धर्मावलम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हन् ।