पोखरा । कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट ३ जना अग्रज पत्रकार सम्मानित भएका छन् । बुधबार नेपाल पत्रकार महासंघ कास्कीमा आयोजित समारोहमा सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्की शाखाका पूर्व अध्यक्षद्वय माधव शर्मा र कृष्णप्रसाद बास्तोला हुन् ।
उनीहरुलाई नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनही १ लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मान गरे ।
पूर्व सांसद, पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारजनले स्थापना गरेको सूर्यप्रेम बद्देश्यीय समाजसेवा ट्रस्टद्वारा कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट उनीहरुलाई सम्मानित गरिएको हो । जुन पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको छ । समारोहमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानित पत्रकारलाई बधाई दिँदै उनले देश र लोकतन्त्रको रक्षाका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको नाममा छाडातन्त्र सह्य नहुने बताए ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले पत्रकारिता ज्ञानको व्यवसाय हो भनिन् । उनले जनतालाई सुसूचित गर्न पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्सालले कोरोनायता देशभरका ३ सय १५ सञ्चारमाध्यम बन्द भएको र १ हजार १ सय ५० पत्रकार बेरोजगार बनेको बताए ।
समारोहमा सम्मानित व्यक्तित्व डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोलाले सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरे । पुरस्कार संस्थापकतर्फबाट किरण केसी, पुरस्कार छनोट समितिका तर्फबाटहरु पुण्य पौडेल र बद्रीविनोद प्रतीकले पनि बोलेका थिए ।
२०७३ सालदेखि वितरण भएको सो पुरस्कार यसअघि युवराज घिमिरे, बद्रीविनोद प्रतीक, किशोर नेपाल र नारायण कार्की सम्मानित भइसकेको पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले बताइन्।