पोखरा । नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार एकल बहुमत ल्याउन कठिन भएका कारण गठबन्धन गर्नुपरेको बताएका छन् ।
पोखरामा मंगलबार नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन बाध्यता भएको जिकिर पनि गरे । उनले कांग्रेसको एजेण्डामा सबै दलहरुलाई ल्याउन सफल भएको पनि बताए ।
पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर आगामी २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बनाउन लाग्नुपर्ने उनले बताए । ‘अब जसरी भए पनि पार्टीलाई एक गराएर, मेलमिलाप गराएर, आवश्यक एकता गराएर भरसक बहुमतको पार्टी बनाऔं,’ उनले भने, ‘नभए सबैभन्दा ठूलो पार्टी बनाउन अहिलेदेखि लागौं । मलाई विश्वास छ, हामी सफल हुनेछौं ।’ उनले अगाडि भने, ‘हाल देशभर मैले ठूलो उत्साह देखेको छु । पार्टीका साथीहरूको ठूलो सहभागिता छ, आकर्षण बढेको छ ।’
कांग्रेसमा एकअर्कालाई हराउन लाग्ने, अन्तर्घात गर्ने रोग रहेको बताउँदै उनले यसको निर्मूल गर्न आउँदो चुनावमा बहुमत ल्याउन लागिपर्ने बताए ।
पार्टीका महामन्त्री गगन थापाले नेताहरुको लागि पार्टी कर्म हो र कार्यकर्ताको लागि आस्था हो भने । द्वेष, उत्तेजना, घृणाको राजनीति गर्न नहुने उनको सुझाव छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा सुदृढीकरणको आवश्यकता रहेकोमा जोड दिए ।
सहमहामन्त्री जीवन परियारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि जनताले त्यसको महसुस गर्न नपाएको बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्य शंकर भण्डारी, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतले बोलेका थिए ।
२ दिनसम्म चल्ने सम्मेलनमा ५ जना प्रतिनिधिले भाग लिएका छन् ।