लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि यही साता बेलायत आउन लागेका महजोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आह्वान गरेका हुन् ।
भिडियो सन्देशमा महले विगतमा पनि बेलायतका नेपाली दर्शकबाट साथ पाएको स्मरण गर्दै यसपटक त्यस्तै साथ सहयोग रहने आशा व्यक्त गरे । बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेस्रो साता च्यारिटी उद्देश्य राखेर गर्न लागेको कार्यक्रमका लागि महजोडी २० डिसेम्बर बेलायत आउने जनाइएको छ । मह जोडीका साथ यमन श्रेष्ठ (मदनका सुपुत्र) पनि बेलायत आउने भएका छन् ।
मह जोडीको पहिलो कार्यक्रम आउँदो २३ डिसेम्बर दिउँसो ह्यारोस्थित ह्यारो लिजर सेन्टर र दोस्रो कार्यक्रम क्रिसमस इभ अर्थात् २४ डिसेम्बर अपराह्न ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको छ । सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह प्रस्तुति हेर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, हयारो मेयर, काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने जनाए ।
तामाङका अनुसार, एडभान्स टिकट मूल्य जम्मा २५ पाउण्ड छ । विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि जम्मा २० पाउण्ड लिइने पनि उनले जनाए । ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए । कार्यक्रमको बीचमा यमन श्रेष्ठ र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन् ।
बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह प्रहसन गर्न लागिएको सेन्टरले जनाएको छ । सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई सामाजिक सुरक्षा, अंग्रेजी भाषा, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेको छ ।