लन्डन । फिल्म ‘सोल अफ द कमाण्डो’ बेलायतमा विशेष प्रदर्शनको तयारी गरिएको छ ।
चर्चित तेक्वान्दो खेलाडी एवं भूतपूर्व ब्रिटिस आर्मी राजकुमार राई अभिनीत उक्त फिल्म नेपाल र विदेशमा अपार सफलता पाइसकेको फिल्म हो ।
फिल्म आगामी २७ जनवरीमा बेलायतको सिंलेटन भिलेज हलमा साँझ साढे ६ बजे प्रदर्शन हुने कार्यक्रम संयोजक दिल्लीराम राईले जानकारी दिए । त्यसका लागि अग्रिम टिकट बुकिङका लागि कलाकार कमला खापुङ लिम्बु (फोन ०७८५३१९०७३४) लाई सम्पर्क गर्न सकिने उनले बताए ।
युवराज राई (वीरबहादुर) द्वारा निर्देशित फिल्मको निर्माण राजकुमारसहित रवि थापा, धन लिम्बु र मिलन राईले संयुक्त रुपमा गरेका हुन् ।
एक आर्मीको संघर्षलाई चलचित्रको कथावस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पुर्ण लिम्बु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।