लन्डन । बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बेलायतवासी नेपालीसँग भेटघाट र अन्तरक्रिया तीव्र पारेका छन् ।
उनले मिडल्यान्डका नेपालीसँग अन्तरक्रिया गरे । बर्मिङहमस्थित ‘द ब्रिटानिया इन’ मा भेलामा सभापति लामिछानेले वर्तमान व्यवस्थाबाटै देशको अवस्था परिवर्तन गर्नुपर्ने पार्टीको मान्यता रहेको स्पष्ट पारे । उनले ‘एक पटकको नेपाली सधैंको नेपाली’ रहनुपर्छ भने पक्षमा आफ्नो मत रहेको पनि बताए ।
रास्वपा सम्पर्क विभाग यूकेका सभापति पवन शर्माको अध्यक्षतामा भएको कार्यक्रमको पार्टी महामन्त्री राजु कँडेलले सञ्चालन गरेका थिए । प्रवक्ता विष्णु चालिसेले हेल्थ एन्ड सेफ्टी ब्रिफिङ तथा क्षेत्रीय सभापति गंगा गौतमले स्वागत गरेका थिए । कार्यसमिति सदस्य गोमा पौडेलले धन्यवाद दिइन् ।
सभापति लामिछानेलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर स्वागत गरिएको थियो भने उनले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेको रास्वपा सम्पर्क विभाग यूके प्रवक्ता विष्णु चालिसेले बताए ।
लामिछानेसँग सहभागीसँग मंगलबार एसियन कम्युनिटी सेन्टर प्लमस्टिड र एम्पायर हल अल्डरसटमा पनि अन्तरक्रिया गरेका छन् । अल्डरसटमा भूपू गोर्खाहरुको उल्लेख्य उपस्थिति थियो । त्यहाँ रवि लामिछानेले सहभागीको प्रश्नको जवाफ दिएका थिए। गोर्खा प्यालेसका सञ्चालक समेत रहेका एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले डिनरको प्रबन्ध मिलाएका थिए ।
पत्नी नीकिता पौडेल र स्वकीय सचिव एवं पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराका १० डिसेम्बरमा बेलायत आएका उनी १४ डिसेम्बरमा स्वदेश फर्किदैंछन् ।
लामिछानेको भ्रमणको संयोजन प्रवास नेपाली सम्पर्क विभाग यूकेका सदस्य तथा नेपाली समाज विल्टसायर यूकेका अध्यक्ष ज्ञानप्रसाद गुरुङले गरिरहेका छन्।