लन्डन । हालैमात्रै भूपू गोर्खा सैनिक मेजर गणेश राईको सडक दुर्घटनामा परी निधन भयो । एम ३ स्मार्ट मोटरवेमा आफ्नो गाडीबाट निस्कन ढोका खोल्दा हेभी गाडीले ठक्कर दिएर मृत्यु भएको बुझिन्छ । खासमा ग्रेट ब्रिटेनका सडक चिल्ला, पक्की र धेरै सुरक्षित ढंगले बनाइए पनि यस्तैखाले दुर्घटनाले कैयौंको ज्यान गएको छ ।
युकेमा मुख्यगरी ३ खालका सडक छन्– ए रोड्स, बी र सी रोड्स तथा मोटरवइज् ।
ए रोडले टाउन र सिटी जोड्दछ । यसलाई मेजर रोडको क्लासमा राखिएको छ । यसलाई ट्रङ्क रोड पनि भनिन्छ । ए रोडमा सिंगल वा ड्युल क्यारिज वे हुन्छन् । युकेमा २८ हजार माइल ए रोडमा पर्दछ ।
बी र सी रोडले सानो र ठूलो गाउँ जोड्छ । लगभग ८७ प्रतिशत बाटोको दुरी यहीखालको बाटोले ओगटेको छ । अर्को हो, मोटर वे अर्थात् हाई स्पिड रोड । जहाँ ७० माइल्स वा १ सय १२ किमी प्रतिघण्टा गाडी कुदाउन पाइन्छ । यसले देशको मुख्य टाउन र सिटी जोड्छ ।
युकेमा २ हजार १ सय ७३ माइल दुरी मोटर–वेले ओगटेको पाइन्छ । एम १ देखि एम ८ सय ९८ सम्मका नाममा ५० वटा मोटर वे छन् ।
युकेमा मोटरवेलाई स्मार्ट मोटरवेमा परिणत गरिएको छ । यो कार्य सन् २००६ देखि शुरु गरिएको हो । साधरणतया मोटरवेमा ३ वटा लेन हुन्छन् । बीचको लेन, बायाँको रुटिन ड्राइभिङ र दायाँको लाई ओभर टेकिङ्गका लागि चलाइन्छ । बायाँ छेउमा हार्ड सोल्डर आकस्मिक सेवाको लागि बनाएको हुन्थो । तर स्मार्ट मोटरवेमा कन्भर्ट गर्दा हार्डसोल्डरलाई चौंथो लेन बनाएको छ ।
यसबाट फाइदा बेफाइदा दुवै भएका छन् । सुरक्षाको हिसाबमा धेरै दुर्घटनाहरु भएको देखिन्छ । मोटरवेमा गाडी ब्रेक डाउन वा केही घटना भएमा धेरै असुविधा हुने गर्दछ । ती बाटोहरुमा इमर्जेन्सी रिफ्युज एरिया र एसओएस फोन सुविधा राखिए तापनि खतरा बढी नै भएको देखिन्छ । यदि स्मार्ट मोटरवेमा गाडी ब्रेक डाउन भएमा निम्न कुरामा ध्यान पुर्याउनुपर्छ ।
१. यदि सुरक्षित छ भने मात्र इमर्जेन्सी रिफ्युज एरिया (इआरए) प्रयोग गर्नुहोला ।
२. यदि तपाई इआरए पुग्न सक्नुहुन्न भने सुरक्षित तवरले गाडीलाई किनारामा लैजानु होला ।
३. हजार्ड वारनिङ्ग लाइट बाल्नुहोला ।
४. गाडीबाट निस्ँकदा प्यासेन्जर सिट साइटबाट मात्र निस्कनुहोला ।
५. यदि निस्कन सेफ नभएमा ९९९ डायल गर्नुहोला, पर्खनुहोला ।
युके बाहेक युरोपका सबै गाडीहरु लेफ्ट ह्यान्ड हुन्छन् । युकोको बाटोमा धेरै हेभी गाडीहरु युरोपबाट आएका हुन्छन् । त्यसैले युकेका ड्राइभरहरुले अतिरिक्त ख्याल गर्नुपर्दछ ।