पोखरा । तमु प्ये ल्हु संघ (TPLS) स्थापना भएको ३२ वर्ष पुगेको अवसरमा पोख्रेली तमुहरुले स्थापना दिवस मनाएका छन् ।
कार्तिक ३ गते पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवा शक्तिघाटस्थित फ–लि–ना क्होइबोभित्र पच्यु गुरु, क्ल्हेप्री गुरु र बोनलम गुरुद्वारा छ्योप त्हें गरेर संघको ३२ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना बीच शुभकामना साटासाट गर्दै मनाएका छन् ।
तमु प्ये ल्हु संघ तमुहरुको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, भेषभुषा आदि संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले खोलिएको एउटा धार्मिक÷सामाजिक संस्था हो । तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा सम्पन्न भएको हिजोको उक्त कार्यक्रममा पित्रीहरुको सम्झनामा एक मिनेट मौन धारण गरी छ्योप त्हें सम्पन्न भएपछि थासो पानी खाएर प्रसाद ग्रहण गरेका थिए ।
यसै क्रममा तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार पूर्णविर तमुद्वारा यूकेमा संकलित सहयोग रकम तमु प्ये ल्हु संघ पोंचोकों दशथर मर्स्याङदी गाउँपालिका २ घनपोखरा घ्यामरुङमा निर्माणधिन क्होइबोलाई दुई लाख एघार हजार सात सय रुपैयाँ हस्तान्तरण गरिएको छ । तमु बोनलम चेला प्रशिक्षणका लागि एकलाख रुपैयाँ सहयोग रकम सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ ।
यसैगरी तमु प्ये ल्हु संघको नेतृत्वमा तमु समुदायको पुरानो थाकथलो क्होला सोंप्रे ट्हों को स्थलगत अध्ययन, अवलोकन तथा अनुसन्धानका लागि हेरिटेज सर्कल काठमाडौंको विशेषज्ञ टोली र युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका भ्रमण टोलीलाई प्रसाद सगुन खुवाइ शुभकामना सहित विदाई गरेका थिए ।