पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा ३२ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८० जारी छ।
गत मंसिर २१ देखि सुरु मेला पुस १ सम्म पोखराको नयाँबजारमा चल्नेछ । मेलामा दैनिक उपभोग्य बस्तु तथा अन्य सेवामा भारी छुट व्यवस्था गरिएको छ ।
मेलामा रहेका विभिन्न स्टलहरुले भारी छुटमा सामान बिक्री गरिरहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलाले बताए । उनका अनुसार दैनिक उपभोग्य बस्तु र लत्ताकपडा सुपथ मूल्यमा बिक्री भइरहेका छन् ।
‘साल्ट्र ट्रेडिङ कर्पोरेसनले छुटसहित विभिन्न उत्पादनहरु बिक्री गरिहेको छ,’ उनले भने, ‘त्यस्तै मेलाको प्रवेश टिकटमा हामीले पनि विभिन्न उपहारको व्यवस्था गरेका छौं ।’ उनका अनुसार मेलाको हेल्थ पार्टनर चरक मेमोरियल अस्पतालले मेलास्थलमा स्वास्थ्य परीक्षणका साथै हरेक दिन २ जनालाई अस्पतालबाट सम्पूर्ण स्वास्थ्य परीक्षणको अवसर दिएको छ । बेटरहोम्सबाट पनि दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने चालिसे मोटर्स, नयाँबजारले मेलाको प्रवेश टिकटबाट गोलाप्रथाद्वारा १ जनालाई सुजुकी एभेनिक स्कुटर दिने घोषणा गरेको छ ।
यस्तै, मेलास्थलमा रहेको नेपाल टेलिकमको स्टलबाट निशुल्क सिमकार्ड वितरण भइरहेकोे टेलिकमका बजार व्यवस्थापन प्रमुख महेन्द्र रिमालले बताए । मेलामा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नेदेखि आफ्ना सेवाबारे जानकारी दिएका छन् भने पोखरा औद्योगिक क्षेत्र उद्योग संघतर्फबाट राखिएका स्टलबाट त्यहाँका औद्योगिक उत्पादन सुपथ मूल्यमा बिक्री तथा प्रदर्शन भइरहेको संघ उपमहासचिव शोभा गौतमले बताइन् ।
मेलामा सहभागीलाई मनोरञ्जन दिन सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा नाच्नेलाई पनि उपहारको व्यवस्था गरिएको उनले बताए । मेलामा दैनिक रुपमा विविध सांस्कृतिक कार्यक्रम हुने गरेका छन् ।
मेलामा आकर्षक स्टल र स्टेज निर्माण गरिएको छ । मेलामा २ सय ५० स्टल राखिएका छन् । जसमा डोमतर्फ ५४, अटोका ५० र अन्य विभिन्नखालका १ सय ४६ स्टल रहेका छन् ।
मेलाबाट अनुमानित आम्दानी ९० लाखबाट खर्च कटाइ १० लाख बचत हुने आयोजकको अनुमान छ ।
मेलामा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई निशुल्क प्रवेश दिइएको छ ।