पोखरा । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ बिहीबार कास्की प्रवेश गरेको छ ।
बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वतको कुस्मामा आमसभा गरी साँझ कास्की प्रवेश गरेको हो ।
पर्वत र कास्कीको सिमाना नयाँपुलमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरियो ।
हेमजाको मिलनचोकमा आयोजित जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा जनताको सरकार नभएको टिप्पणी गरे । उनले भने, ‘देशमा सरकार छ जस्तो पनि छ, छैनजस्तो पनि छ । छैन भन्ने हो भने छ, भत्ता खाएको छ, झण्डा हल्लाएको छ ।’
एमाले बाहेक अरुले यो देश बनाउन नसक्ने उनको दाबी छ । उनले एमालेको एक्लै सरकार हुँदा हेमजाको भाइरल रोड बनेको स्मरण गरे ।
उनले आफू प्रधानमन्त्री हुनुअघि वर्षमा १० किलोमिटर सडक पिच हुने गरेकोमा आफू प्रधानमन्त्री भएपछि दिनमै १० किलोमिटरका दरले पिच गर्न थालेको दाबी गरे ।
यसैगरी, उनले नेपालमा अब राजतन्त्र नफर्किंने दाबी पनि गरे । ‘यो देशमा १६ वर्ष अगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किंनेवाला छैन,’ उनले भने ।
‘हामीले लडेर ल्याएको लोकतन्त्रमा कसैले हामीमाथि दमन गर्छु भन्ने कल्पना नगरे हुन्छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘आजको एमाले ४० वर्षको एमाले होइन । आजको एमाले देशमा सरकार चलाइसकेको, देश बनाउन जानिसकेको एमाले हो ।’
उनले एमाले सरकारमा भएको भए अरु पार्टीको राजनीतिक पसल बन्द हुने तर्क गरे। त्यसअघि कुष्मामा सम्बोधन गर्दै उनले जाजरकोट र रुकुम पश्चिममा जनताका पीडा हेर्न नसक्ने सरकार किन चाहियो ? भनी टिप्पणी गरे।
महाकालीको बैतडी झुलाघाटदेखि मेचीको पाँचथरस्थित चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्राको टोली बिहीबार राति पोखरामै बसेको छ।
टोली शुक्रबार कास्कीबाट पूर्वतर्फ अघि बढ्ने एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले बताए । शुक्रबार बिहान ९ बजे तालचोकमा ओलीले संक्षिप्त सम्बोधन गर्ने छन् । ओलीसहित पार्टीका पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष/प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यहरू र तोकिएका व्यक्तिहरू संकल्प यात्राको केन्द्रीय टोलीमा सहभागी छन्।