पोखरा । पोखरा नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संथा लिमिटेड ठगी प्रकरणमा ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालतको अनुमतिमा कास्की प्रहरीद्वारा सहकारी संचालक समिति पदाधिकारी, सदस्य लगायत, पत्रकार, वकिल र जनप्रतिनिधि गरी ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीले उनीहरुको अहिले खोजबिन सुरु गरेको छ ।
यसैबीच, कास्की प्रहरीले निक्षेपकर्ताबाट उजुरीको आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गरी उक्त आह्वान गरेको हो ।
सहकारी सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना गरेको पाइएपछि प्रहरीले थप उजुरी आह्वान गरेको हो । उक्त ठगी काण्डमा २६ करोडभन्दा बढी रुपैयाँ ठगी भएको अनुमान छ ।
यसअघि नै सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी पक्राउ परिसकेका छन् । साथै हालसम्म ६ जनाले उजुरी दिएका छन् । अन्य कैयौं व्यक्तिहरु पनि पीडित भएको भन्दै प्रहरीले यही मंसिर २७ गतेसम्म आवश्यक कागजातसहित जाहेरी दिन अनुरोध गरेको छ ।
बचतकर्ताले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र आफ्नो नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम ऐन शीर्षकमा जाहेरी दरखास्त दिन भनिएको छ ।