पोखरा । नेपाल–भारत संयुक्त लगानीमा निर्मित फिल्म ‘हिटम्यान’ आगामी फेब्रुअरीमा विश्वव्यापी प्रदर्शन हुँदैछ । यो इन्डो–नेपाली फिल्म पहिलो पटक ओटिटी प्लेटफर्म अमेजनमा जाँदैछ ।
फिल्म युनिटले बुधबार पोखरामा पत्रकारसँग साक्षात्कार गरेको छ । यसका नायक एवं निर्देशक विष्णु अधिकारीले विभिन्न ६ मुलुकमा खिचिएको ‘हिटम्यान’ १६ भाषामा रिलिज हुने बताए । फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुनेछ । फिल्मको सार्वजनिक पोस्टर र टिजर खुबै रुचाइएको छ । फिल्म नेपालसहित भारत, श्रृलंका, दुवई र फ्रान्समा समेत छायांकन भएको हो ।
फिल्ममा कलाकार प्रशान्त ताम्राकार र मिलन सिजापजीको मुख्य अभिनय छ । नेपाली नायिका आँचल शर्मालाई अडिसनमार्फत इन्ट्री दिइएको थियो । नेपालका तीनचार जना नायिकासँग कुरा भए पनि नेपाली तथा साउथ इन्डियन जस्तो देखिने भएकोले आँचल फिट भएको उनले खुलाए । उनले राम्रो अभिनय गरेको भन्दै निर्देशक अधिकारीले आँचलको अभिनयका कारण दर्शकले आँसु चुहाउने बताउँछन् ।
फिल्ममा नेपाल, भारत र पाकिस्तानको सम्बन्धका विषयलाई समेत उठान गर्न खोजिएको बताइएको छ । साउथ फिल्म मन पराउने दर्शकका लागि ‘हिटम्यान’ ले तान्न सक्ने निर्माण पक्षको दाबी छ । फिल्ममा उच्च किसिमको प्रविधि प्रयोग छ ।
अमेजन प्राइम भिडियोका तर्फबाट भेन्डरपार्टनर राजीवले इन्डो–नेपाली फिल्म हिटम्यानसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नेपालका लागि वितरक पोखरेली केदार पराजुलीले फिल्म राम्रो रहेकोले सहकार्य गरेको बताए ।
फिल्ममा दीपक अधिकारी निर्माता र सन्नी लावती सहनिर्माता हुन् । फिल्ममा साउथ इन्डियाका चर्चित संगीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् ।