पोखरा । तमु धिं नेपालले बोन म्यारोको उपचाररत् २५ वर्षीय इसाक तामाङलाई १ लाख रुपैयाँ सहयोग गरेको छ।
धादिङबाट पोखरा आई पोखरा–१, कसेरीमा बस्दै आएका तामाङ १ वर्ष अघिदेखि बोन म्यारो उपचारक्रममा आर्थिक अभावले उपचारमा समस्याका कारण तमु धिं नेपालका स्थापित ‘मे. जयबहादुर गुरुङ, उदय चन्द्र, रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोष’ को व्याजबाट उपचारका लागि सहयोग गरिएको हो।
कसेरीमा बुधबार आयोजित कार्यक्रममा कोषका संस्थापक समाजसेवी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ, तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले बिरामी इसाकलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।
कोष संस्थापक समाजसेवी मेजरनी रुपकुमारी गुरुङले उपचार रकम हस्तान्तरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले अक्षयकोष स्थापना, अक्षयकोषको उद्देश्यबारे जानकारी दिँदै युवा अवस्थाका बिरामी इसाक तामाङलाई उच्च भावना बनाउन आग्रह गरे । उनले उपचार सहयोगका लागि संयोजन गरेकोमा जनप्रतिनिधि वडा १ का वडा सदस्य शोभा गुरुङलाई धन्यवाद व्यक्त गरे ।
कसेरी टोल विकास अध्यक्ष तोरन लामाले आफ्नो बस्तीमा आएर बिरामीको उपचारका लागि सहयोग गर्ने तमु धिं नेपाल र कोषदातालाई धन्यवाद व्यक्त गरे । वडा सदस्य शोभा गुरुङले उपचारका लागि सहयोगको हात फैलाइरहका इसाक तामाङलाई तमु धिं नेपालको सहयोग अत्यन्तै सराहनीय भएको भन्दै धन्यवाद दिए ।
कार्यक्रममा तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ, सहकोषाध्यक्ष सुवेदार तुलबहादुर गुरुङ, वडा सदस्य शोभा गुरुङ, सिमपानी तमु समाजका कार्यवाहक अध्यक्ष चेकबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ इकाइ समिति कसेरी अध्यक्ष वीरबहादुर तामाङ, युवा क्लब, टोल विकासलगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
आर्थिक अवस्था कमजोरीका कारण उपचारमा समस्यामा परेका बिरामीहरुको उपचार सहयोगार्थ समाजसेवी मेजरनी रुपकुमारी गुरुङले तमु धिं नेपालमा १ करोड १ सय ५१ रुपैयाँको स्वास्थ्योपचार कोष स्थापना गरिदिएकी छन् । सो कोषको व्याजबाट स्वास्थ्योपचारका लागि तमु धिं नेपालले सहयोग गर्दै आएको छ ।