काठमाडौं । रुकुम पश्चिमको चौरजहारी–८, सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जिल्ला अदालतले मंगलबार जन्मकैदको सजाय सुनाएको छ । उनीहरुलाई जातीय छुवाछुतको कसुरमा थप २ वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।
साढे ३ वर्षअघि भएको उक्त घटनाको मुद्दामा कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । मुद्दाको २ दिनदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो ।
नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये किशोरीकी आमा धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए । २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
घटनामा संलग्न २३ जना पुर्पक्षका लागि कारागारमा थिए । बाहिर रहेका ११ जना मध्ये १ जनालाई जन्मकैद, २ वर्ष कैद ५० हजार जरिवाना हुनेछ । अन्य २ जनालाई जातीय छुवाछुतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ । दोषीहरुबाट जनही ४० हजार रुपैयाँ भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ । घटनामा संलग्नताको आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन् ।
२०७७ जेठ १० मा जाजरकोटको भेरी–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी
प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेकोमा स्थानीयको योजनाबद्ध आक्रमणमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । जसमा १२ जना घाइते भएका थिए ।
घटनाको २ सातापछि नवराजसहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको शव संकलन गरिएको थियो ।