लन्डन । बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमको लागि नेपालका वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीलाई निम्तो दिएको छ ।
आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको पहिलो कार्यक्रम २३ डिसेम्बरमा हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको बताए । मह जोडीको भिसा लागिसकेको र उहाँहरु २० डिसेम्बरमा बेलायत आउने उनको भनाइ छ । ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए । जसमा स्थानीय कलाकारको समेत प्रस्तुति रहने छ।
अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हुँदै जाने आयोजकले जनायो । दर्शकले अनलाइन तथा प्रवेशद्वारमा पनि टिकट खरिद गर्न सक्नेछन् ।
बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह प्रहसन गर्न लागिएको तामाङले बताए ।
ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक आउने अपेक्षा छ ।
सेन्टरले स्थापनाकालदेखि नै बेलायतमा रहेका ब्रिटिस भूतपूर्व गोर्खा सैनिकहरु र तिनका वयस्क सन्तानहरुको हकहितका लागि आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई सामाजिक सुरक्षा, अंग्रेजी भाषा, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेको छ।
पत्रकार सम्मेलनको संचालन अल्डरसट कार्यक्रमका लागि स्वयंसेवक संयोजक मधु गुरुङद्वारा भएको थियो ।