काठमाडौं । चलचित्र ‘परदेशी २’ ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ । शनिबार राजधानीमा ५१ औं दिनको सेलिब्रेसन गरियो ।
नारायण रायमाझी निर्देशित यो फिल्म गत २६ असोजदेखि अलनेपाल रिलिज भएको हो । फिल्ममा प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ ।
दर्शकको अपार मायाका साथ चलचित्रले प्रदर्शनको लामो यात्रा तय गरेको हो । काठमाडौंसँगै देशका विभिन्न सहरका हलमा यो फिल्मले ५१ औं दिन पार गरेको निर्माण पक्षले जनाएको छ ।
काठमाडौंमा अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा चलचित्र प्रदर्शनरत छ ।
त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा चलचित्र निरन्तर चलिरहेको निर्माता राजेश वंशलले बताए ।
घरेलु बक्स अफिसमा चलचित्रले ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माता वंशलले बताए ।
रमेश बिजीले लेखेको फिल्ममा युवाको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथा पस्किएको छ ।
मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्ममा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको पनि भूमिका छ ।