पोखरा । २५ औं संस्करणको सडक महोत्सवको तयारीमा आयोजक रेवान पोखरा जुटेको छ । पोखराकै ब्रान्ड बन्दै आएको पोखरा सडक महोत्सवले यस वर्ष रजत जयन्ती मनाउँदै छ ।
अंग्रेजी नयाँ वर्ष अवसरमा फेवाताल किनार लेकसाइडको करिब ३ किमी क्षेत्रफलको सडकमै आयोजना गरिने यो महोत्सव नेपालकै सबैभन्दा ठूलो महोत्सव हो । जहाँ मानिसहरु सडकमै खाने र सडकमै रमाउने गर्दछन् ।
आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने यो महोत्सव यसपालि पुस १२ देखि १६ सम्म चल्नेछ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा २५ औं पोखरा सडक महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सवबाट पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरे ।
आयोजकले विगतको तुलनामा यसपालि बढी पाहुना भित्राउने अपेक्षा गरेको छ । पोखरा सडक महोत्सवमा पाँच लाख बढी आन्तरिक पाहुना भित्राउने लक्ष्य उनीहरुको छ ।
महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शनी, कन्सर्ट, बोट रेस, वेटर रे, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटक, पर्यटनबारे टस शो, हस्तकला, चित्रकला, मूर्तिकला, कृषि, बनस्पतीको प्रदर्शनी, चित्रकला, मःमः खसेज खाने प्रतियोगिता लगायत छन् ।
महोत्सवको अवसरमा व्यवसायीहरुले सडकमै रेष्टुरेन्ट उतारेर विभिन्न परिकार चखाउने छन् । महोत्सव फिस्टेलगेटदेखि गैह्राको चौतारा हुँदै जरेश्वर लेकसाइडसम्म हुनेछ ।
कार्यक्रममा पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराका पर्यटन व्यवसायीहरुले रेवानको सडक महोत्सवमा साढे ५ लाख बढी पाहुना भित्राउने लक्ष्य रहेको सुनाए । उनले विगतमा केही वर्ष कोरोनाले प्रभाव पारे पनि अहिले बिस्तारै सुध्रिदै गएको बताए।