पोखरा । पोखरामा शनिबार अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री कम्पिटिसन भयो । जसमा नेपाली खेलाडीले वर्चश्व कायम गर्न सफल भए ।
विभिन्न ४ इभेन्टमा भएको दौडमध्ये मुख्य टिम इभेन्टमा नेपाली खेलाडी प्रथम, दोस्रो र तेस्रो हुँदा चिनियाँ टिम चौंथो भयो । जसमा सुमन कुलुङ, रमेश लिम्बु र इन्द्रकला नेम्वाङ सम्मिलित टिम प्रथम भएको हो ।
यस्तै, वसन्त थारु, मुकेश थारु र श्रेवी महर्जन सम्मिलितको टिम दोस्रो, श्रीकाश राई, तिलक सुनुवार र केशरी थापामगरको टिम तेस्रो भयो । चीनको लि काइछी, यान चुनजेन र जो किङको टिम चौथो तथा नेपाली गजेन्द्र राई, गोपाल तामाङ र ज्ञानु चौधरीको टिम पाँचौ भयो ।
फेवाताल किनार वाराहीघाटदेखि सुरु ४० किमी निर्धारित दुरीअन्तर्गत धावकले दौड, साइक्लिङ र डुंगादौड पूरा गरेका हुन् ।
सो इभेन्टका विजेतालाई शनिबार राति आयोजित समापन समारोहमा ३ लाख ६० हजार, दोस्रोलाई २ लाख ८८ हजार, तेस्रोलाई २ लाख १६ हजार र चौथोलाई १ लाख ४४ हजारसहित पुरस्कृत गरियो । जसमा १४ टिमले भाग लिए । एउटा टिममा अनिवार्य १ महिलासहित ३ जना थिए ।
७६ जना सम्मिलित एकल इभेन्टतर्फ नेपालका होमलाल श्रेष्ठ प्रथम भए । उनले निर्धारित ३८ किमी दुरीको दौड २ घन्टा ३३ मिनेट ४२ सेकेन्डमा पूरा गरे ।
महिलातर्फ नेपालकै मञ्जु रावत प्रथम भइन् । उनले निर्धारित ३८ किमी दूरी ३ घन्टा २४ मिनेट २० सकेन्डमा पूरा गरिन् ।
दुवैतर्फ विजेतालाई जनही १ लाख ४४ हजार रुपैयाँ पुरस्कार दिइयो । उत्कृष्ट १० ले पनि नगद पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय फ्रेन्डसिप सिरिज् लिगको रुपमा फेवाताल किनार वाराहीघाट खेल मैदानमा आयोजित उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले संयुक्त उद्घाटन गरेका थिए ।
वार हर्ष नेपाल–पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री दौड कम्पिटिसन नाम दिइएको सो दौड नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले संयुक्त आयोजना गरेका हुन् । पोखरा होटल संघ यसको सहआयोजक हो ।