काठमाडौं । लोकसंगीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका बत्तीकुमारी थापाको स्वरमा अर्को गीत सार्वजनिक भएको छ।
‘गाईलाई चरन’ बोलको उक्त गीत शुक्रबार बिमल परियार युट्युव च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा बत्तीकुमारीलाई बिमल परियार र तारा थापामगरले स्वरमा साथ दिएका छन् ।
तारा थापामगरको प्रस्तुतिमा सार्वजनिक गीतको भिडियोमा अभिनेता पुष्प खड्का र रजनी गुरुङको मुख्य अभिनय छ।
रमेश परियारले लेखेको गीतको भिडियो निर्देशन मौषम हिमालीको हो । एरेन्ज, मिक्सिङ र मास्टरिङ विनोद बाजुरालीले गरेका छन् भने सम्पादन मनोज कार्कीको रहेको छ।
यो गीतबाट गायिका बत्तीकुमारीले निकै आशा गरेकी छन् । उनले विगतमा झैं माया गरिदिन स्रोतदर्शकसमक्ष आग्रह गरेकी छन्।
२०७२ सालदेखि गीतसंगीतमा होमिएकी बत्तीकुमारीले ‘फूलीवाली’, ‘खाली गाउँ’ (सालैजो), ‘बोटमा बयर’, ‘झमक्कै परे’सी रात’ बोल लगायतका गीतमा स्वर दिएर सबैको मनमनमा बस्न सफल भएकी छन्।
त्यतिमात्र कहाँ हो र, कोलगेट इमेज लोककलाकार सिजन–२ की फाइनलिस्ट उनी ५ वर्षअघि पोखरामा भएका दुई गायक प्रतियोगितामा तेस्रो स्थान ल्याउन सफल भएकी थिइन् । २०७५ सालमा त्रिवेणी संगीतालयले आयोजना गरेको ‘पोखरा लोकतारा–२’ मा तृतीय उनी ‘सफल लोकआवाज–२०७५ एकल लोकगीत गायन प्रतियोगिता’ मा पनि तेस्रो हुन सफल भएकी थिइन् ।
सांगीतिक कार्यक्रमका लागि नेपालका विभिन्न भाग गएकी उनी विदेशमा कोरिया र हङकङ पुगिसकेकी छन् । उनी लाइभ दोहोरीमा पनि उत्तिकै जमेर गाउन सक्छिन्।
स्याङ्जाको राङभाङका भुवनसिंह थापा र दुपती थापाको सुपुत्री ३४ वर्षीया बत्तीकुमारी हाल पोखरा चिप्लेढुंगास्थित सफल नीरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टमा कार्यरत छन्।