पोखरा । सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिना गरेको अभियोग लागेका ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपाली ६ महिनापछि सार्वजनिक भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपाली गत जेठ ५ गतेदेखि फरार थिए ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएका उनले आफ्नो जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नुपरेको दाबी गरे । एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको उनको दाबी छ । आफ्नो घरमा आई हतियारसहित ज्यान मार्ने धम्की आएको र ६ लाख बचत भएकाहरुले करोडौंको घर मागेकोले बेपत्ता हुनुपरेको उनले बताएका छन् ।
आफ्नो चलअचल सम्पत्ति पूरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफूलाई असहयोग गरेको बताए । बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुख भएर ७ वर्षदेखि बुर्तिवाङ बस्दा सहकारीमा समय दिन नसकिएको उनले स्वीकार गरे ।
उनले इमेज सहकारीमा बचतकर्ताले भनेजस्तो सबै रकम डिपोजिट नभएको समेत बताए । गत ३० कात्तिकको मिति
राखेर विज्ञप्ति सार्वजनिक गर्दै नेपालीले समस्या समाधानका लागि सहजीकरण गरिदिन सम्पूर्णमा अनुरोधसमेत गरेका छन् । सहकारी समस्यामा परेको थाहा पाएर मिलाउने प्रयास गर्दागर्दै सबै बचतकर्ता एकै चोटी रकम फिर्ता मागेर अप्ठेरोमा पारेको उनको दाबी छ । उनले आफू र पत्नीका नाममा भएको घरजग्गाको विवरण समेत सार्वजनिक गरेका छन् ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी १ अर्ब ५४ करोड बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको उल्लेख छ ।
तर उनले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको भन्दै बाग्लुङ, पोखरा र काठमाडौंमा गरी आफ्ना १८ घर रहेको र ती घरको मूल्य ३ अर्बभन्दा बढी रहेको बताएका छन् ।
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उनले नेकपा एमालेबाट ढोरपाटनको मेयर जितेका थिए । उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन् ।