काठमाडौं । काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।
असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको हो । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा भएसँगै अब उक्त स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
यही मंसिर ७ मा युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए ।
विकल्पको लागि तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।