पोखरा । भिजिनरी इन्टरनेस्नलका सिइओ तथा लिडरसीप कन्सियसनेस कोच, आकाश हिलर इन्द्र गुरुङ र साइक्लोजिस्ट, एनएलपी माष्टर ट्रेनर, आकाश हिलर राजेश्वरी श्रेष्ठ गुरुङको पहलमा खुमैडाँडा अन्तर्राष्ट्रिय चारदिने आकाश हिलिङ ट्रेक सम्पन्न भएको छ ।
बिहीबार फर्किएको ट्रेक टोलीमा काठमाडौं, भक्तपुर, पोखरा, वालिङ तथा फ्रान्सबाट एगनेस मरिया र बेलायतबाट प्रकाश गुरुङ गरी १८ जनाको सहभागिता थियो ।
पहिलो दिन सबैजना घाचोक गाउँको होटल अन्नपूर्ण इनमा जम्मा भएका थिए । बेलुका परिचयात्मक कार्यक्रम भयो । ट्रेकका लिडर आकाश हिलार रोनाल्ड गुरुङ र रुपेन्द्र कायस्थले उद्देश्य, सुरक्षा र व्यवस्थापनबारे प्रस्ट पारे । इन्द्र र राजीले ट्रेकलाई बढी प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारे संक्षिप्त बोलेका थिए ।
दोस्रो दिन बिहानै माँ इन्द्रेणी शर्माले टोलीका सदस्यलाई योग गराए । बिहानको खाजापश्चात हिलर इन्द्र गुरुङले प्रकृतिसँग अनुमति माग्दै सामूहिक हिलिङ गराएपछि पैताला ट्रेक सुरु भयो ।
बाटो रमणीय परिदृश्य, वनस्पति र जीव अवलोकन गर्दै उकालो चढ्न सजिलो भएको सहभागी अरुणकुमार श्रेष्ठ बताउँछन् । टुँबुडाँडामा चियापनका लागि केही समय रोकिँदा इन्द्रेणी शर्माको गायन गिटार प्ले, तेजबहादुर गुरुङ, रोनाल्ड र अर्विनको गायनले सबैलाई थप ऊर्जा थप्यो । टोलीले हिलेडाँडामा दोस्रो रात बितायो । उक्त रात ३ भागमा विभाजित भएर अन्ताक्षरी खेली रमाइलो गरिएको थियो ।
त्यसपछि बिहानै हिलर राजीश्वरीले ह्वाइट लाइट मेडिटेसन गराएपछि सामूहिक आकाश हिलिङ गरी तेस्रो दिनको ट्रेक सुरु भयो । समशुर देउरालीमा पुगेर दही, मोही र घ्यू भात खाएपछि फेरि उकालो चढ्ने क्रम जारी रह्यो । केही बादल, चिसो जाडो थकाइ पार गर्दै टोली ३२४५ मिटर उचाइको खुमैडाँडा पुग्यो । चिसो रात न्यूनतम सुविधा भए तापनि हिमाललाई नजिकबाट हेर्ने लोभले सबै उत्साहित थिए । बिहान सबेरै उठेर सूर्य उदाएको हेर्न सबैजना ४ बजेभित्रै कोर्चनतिर लागे । ठाडो उकालो २ घण्टाको हिंडाइपछि कोर्चन पुगे । सूर्यको पहिलो किरण माछापुच्छ्रेको शिरमा झुल्किएको देखेपछि मख्खै पर्दै सबैले त्यो अमूल्य क्षण आ–आफ्नो क्यामेरामा कैद गरे । सामूहिक फोटो खिच्दै गर्दा कसैको अनुहारमा थकानको झल्को थिएन । टोलीमा आकाश हिलर, स्वामीहरु, माँ र आध्यात्मिक संसारमा पसिसकेकाहरुको सहभागिता थियो ।
३६८२ मिटर उचाइमा रहेको कोर्चामा सामूहिक हिलिङ भयो । हिलर रुपेन्द्र कायस्थ, रोनाल्ड गुरुङ र भुवान लामिछानेले सबैलाई हिलिङ गराइदिए । स्वामी आत्मा प्रकाश हिलर रुपेन्द्रको निर्देशनमा ट्रान्समै पुगेका थिए । अविस्मरणीय क्षण मन र क्यामरामा कैद गरिसकेपछि टोली खुमैडाँडा फर्कियो । आकाश कोचिङ एलान्सको नीलो टिसर्ट लगाएर सामूहिक फोटो खिचियो । र, अन्त्यमा हिलर राजीश्वरीले कस्मिक मिडिटेसन गराए । करिब ८ घण्टाको ओरालो हिंडाइपश्चात घाचोक गाउँमा आइपुगेर आकाश हिलिङ ट्रेक सकियो ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङ, हिमालयन कम्पुटरस्का प्रोपाइटर जमुना गुरुङ, ऋषिकुञ्ज आश्रमका सञ्चालक इन्द्रेणी शर्मा, ब्रिटिस गोरखा वेलफेयर सोसाइटीका प्रवक्ता तथा गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङ, प्याराग्लाइडिङ पाइलट भुवान लामिछाने, युनिभर्सिटीका विद्यार्थी र बौद्धिक क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।