काठमाडौं । यूरोप भ्रमण स्थगित गरेर राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र पुगेका छन् । उनले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी पनि लिए ।
उनले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने बताए । त्यसक्रममा घाइतेहरुले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए भने घाइतेको अवस्थाबारे चिकित्सकहरूले जानकारी दिए ।
राष्ट्रपति पौडेलले सदरमुकाम खलंगा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी समेत लिए
उनले कात्तिक २२ देखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।
राष्ट्रपति पौडेलको साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् ।
गत कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पबाट भएको ठूलो जनधनको क्षति भएको थियो ।