पोखरा । पोखराबाट सञ्चालित गोर्खाली रेडियोको आइतबार १४ औं वार्षिक साधारण सभा एवं धन्यवाद कार्यक्रम सम्पन्न भएको छ ।
नयाँबजारस्थित तमु धिं परिसरमा भएको कार्यक्रमको उद्घाटन गर्दै कास्कीको मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले राजनीतिक नेतृत्वमा नपुगेसम्म आदिवासी जनजातिको हकअधिकार सुनिश्चित नहुने बताए । उनले अधिकार सुनिश्चितका आफूले आस्था राख्ने दलमा आबद्ध भई नेतृत्वका लागि अघि बढ्न प्रेरित गरे ।
गण्डकी प्रदेश सभाका पूर्व सदस्य एवं रेडियो गोर्खालीका सल्लाहकार वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङले समय परिस्थितिअनुरुप रेडियो कसरी सशक्त र सवलीकरणरुपमा अघि बढाउन सकिन्छ भन्नेबारे विचार व्यक्त गरिन् ।
गोर्खा मिडियाका सम्पादक एवं तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले आन्तरिक एकता मजबुद बनाउँदै कर्मचारी, व्यवस्थापक र सञ्चालक सबै जना रेडियोप्रति उत्तरदायी बनेमा रेडियोले जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने बताए ।
कार्यक्रममा तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदका कावा अध्यक्ष सीता तमु, रेडियोका पूर्व अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङ लगायतले बोलेका थिए ।
सो अवसरमा रेडियोका सिनियर टेक्निसियन रजन गुरुङ उत्कृष्ट कर्मचारीरुपमा नगद ५ हजारसहित सम्मानित भए ।
कार्यक्रमबीच गोर्खाली अन्तरसमाज खुला सामूहिक लोक नृत्य प्रतियोगिताका सहयोगीलाई फेदा, खादा, प्रमाणपत्रसहित मायाको चिनोले सम्मान गरिएको थियो । साथै हालैमात्र बेलायतबाट नेपाल आएका गोर्खा मिडियाका सहसम्पादक एवं ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका प्रवक्ता प्रकाश गुरुङ , तमु धिं युकेका महासचिव डा. विशाल गुरुङ र समाजसेवी भोज गुरुङलाई फेदा लगाएर स्वागत सम्मान गरिएको थियो ।
रेडियोका अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष क्या.रि. हितमान गुरुङ एमबीइ र सञ्चालन स्टेशन म्यानेजर खिमा गुरुङले गरेकी थिइन् ।