पोखरा। पोखरामा आयातित फूलमाला बिक्रीमा रोक लगाइएको छ । पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले सूचना जारी गर्दै स्थानीय फूल मात्रै बिक्री वितरण र उपभोग गर्न आग्रह गरेका हुन् ।
सरकारले गत वर्षदेखि प्लाष्टिकजन्य फूलगच्छाको बिक्री वितरण वा भण्डारण निषेध गरेको र यही ऐनको प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूलगुच्छाको बिक्रीवितरण रोक लगाउने गत वर्ष साउन १२ को राजपत्रको सूचनाअनुसार तथा २०८० कात्तिक १ देखि पोखरामा आयातित सयपत्री माला बन्द गरेकोले सोको प्रभावकारी अनुगमन भइरहेको पनि महानगरले जनाएको छ ।
महानगरको सूचनामा भनिएको छ, ‘२०८० कात्तिक १ देखि आतातित सयपत्री माला बन्द गरेकोले उक्त निर्णयको प्रभावकारी कार्यान्वयनका लागि विगतमा पनि महानगरपालिको अनुगमन गर्दै आएको सर्वविदितै छ । पोखरा महागरपालिकाको स्थानीय उत्पादन प्रवद्र्धन नीतिअनुसार प्लाष्टिकजन्य फूलमाला बिक्री, वितरण तथा प्रयोग नगर्न, नगराउनहुन सम्पूर्ण व्यवसायी, सरकारी, गैरसरकारी संघसंस्था, उपभोक्ता तथा सर्वसाधारणलाई हार्दिक अनुरोध गर्दछौं ।’
संघ सरकारको वन तथा वातावरण मन्त्रालयले पनि गत वर्ष प्लाष्टिकजन्य फूल आयातमा रोक लगाएको थियो । सोही अनुरुप पोखरा महानगरले पनि प्लास्टिकजन्य फुलगुच्छाको विक्री वितरणमा पूर्णरुपमा रोक लगाउँदै गत कात्तिक १ देखि आयातित सयपत्री मालासमेत बन्द गरेको हाे ।
पोखराभित्रका स्थानीय पुष्प व्यवसायी तथा पोखरा महानगरपालिकाको सहयोगमा १६५ रोपनीमा किसानलाई महानगरले सयपत्री फूल खेती प्रवद्र्धन गरेको भन्दै आवश्यक फूलको लागि वडास्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।
यो वर्ष पोखरा महानगर फूलमा आत्मनिर्भर रहेको महानगरको दाबी छ ।
यसैबीच, पोखरामा शुक्रबारदेखि सातौं गोदाबारी पुष्प प्रदर्शनी तथा चौंथो गण्डकी प्रादेशिक पुष्पमेला सुरु भएको छ । मेला ४ दिनसम्म चल्नेछ ।