काठमाडौं । लोक तथा दोहोरी गायिका जालुमाया गुरुङको शब्द, संगीतमा 'लैजान्छु यूके लन्डनमा' सार्वजनिक भएको छ ।
पछिल्ला समयका चर्चित गायक खेम सेन्चुरी र जालुमायाकै स्वरमा उक्त गीत 'जलुमाया गुरुङ' युट्युब च्यानलबाट हालै सार्वजनिक भएको हो । गायिका गुरुङले सोचेभन्दा राम्रो दर्शक,स्रोताले रुचाइदिएको भन्दै धन्यवाद दिएकी छन् । 'मिहिनेत धेरै, आशा थोरै गरेको गीत सोचेको भन्दा पनि धेरै राम्रो भ्यूज गइराको छ । धेरै-धेरै धन्यवाद भगवान दर्शकहरुमा ।' यो गीत सार्वजनिक भएको दुई हप्तामै झन्डै साढे ७ लाखको भ्यूज भएको छ ।
सामूहिक आवाजमा चिज गुरुङ, सागर बाजुराली, राजेन्द्र बाजुराली, गीता सेन्चुरी, संगीता सुनारले साथ दिएका छन् । यस्तै एरेन्जमा विनोद बाजुरालीले भूमिका खेलेका छन् भने चिज गुरुङ, बबिनसिङ ठकुरी, लक्ष्मी गुरुङ र जलुमाया आफैले अभिनय गरेकी छन् ।
यस्तै बाल कलाकारमा आयुष गुरुङ र उषिका गुरुङको भूमिका छ । विष्णुहरि तिमिल्सिनाको भिडियो सम्पादन रहेको उक्त म्युजिक भिडियोको कोरियोग्राफी र निर्देशन भने दीप गुरुङले गरेका छन् ।
रोल्पाको गुरुङगाउँमा जन्मिएकी जलुमायाको यो पाँचौं गीत हो । यसअघि उनले 'चरी वनैमा', 'छुटिसक्यो पल्टन जाने हो, सोल्टिनीलाई गोरखपुर लाने हो,' 'हातमा रुमाल, काँधैमा गलबन्दी' बोलको गीत पस्कीसकेकी छन् । जसमध्ये पल्टन जाने हो गीत सर्वाधिक चर्चामा रह्यो ।
विशेषगरी लाइभ दोहोरीबाट उदाएकी गायिका जलुमाया व्यावसायिक रुपमा यस क्षेत्रमा लागेको एक दशक नाघिसकेको छ ।