लन्डन । वरिष्ठ गीतकार तथा गायक बुद्धबिर लामाको सांगीतिक शृंखला 'बुद्धवीर लामा बाह्रौं गीतिमय सॅाझ-२०८०' सम्पन्न भएको छ ।
इलाम समाज बेलायतको आयोजनामा शनिबार अल्डरसटमा रहेको द प्यालेस हलमा बुद्धवीर लामाको सांगीतिक कार्यक्रम सम्पन्न भएको हो । नेपाली गीत संगीतको आकाशमा अभूतपूर्ण स्थान हासिल गरिसकेका सयौँ कालजयी गीतहरुमा सुमधुर स्वर र संगीत भरेका गायक लामाले आफ्ना बेजोड प्रस्तुति पस्केका थिए ।
त्यस्तै कार्यक्रममा गायक तथा संगीतकार दिनेश सुब्बा, गायक संगीतकार गणेश गुरुङ, गायक तथा संगीतकार बीसी राई, गायक तथा संगीतकार चोक गुरुङ, गायक दिपेन गुरुङ, गायिका सुनिता थेबे, गायक दिलीप लामा, गायिका लिला राई, गायिका सुस्मा राई, गायिका मेनुका राई र रोजिना राई, यम गुरुङले साथ दिएका थिए ।
कार्यक्रममा बादलुको घुम्टोले इलाम बजार छोपियो, चोली राम्रो पाल्पाली ढाकाको, आइडी कार्डैलेलगायत दर्जनौं गीत घन्किएका थिए ।
इलाम समाज बेलायतका अध्यक्ष टेकवीर राईको अध्यक्षता र गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमबारे एनआरएनए यूकेका अध्यक्ष गाहाले भने 'बुद्ध वीर लामाको १२ औं गीतिमाय साँझमा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गर्नुभएकोमा हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु । यस सम्मानित कार्यक्रममा सहभागी हुन पाउनु मेरो लागि सम्मान र सौभाग्यको कुरा हो । कार्यक्रममा उपस्थित भएर मैले असाधारण समय बिताएँ र प्रख्यात गायक, पूर्वप्रमुख जिल्ला अधिकारी र अनुभवी म्याराथन धावक बुद्धवीर लामालाई भेट्न पाउँदा खुसी लाग्यो । उहाँको प्रतिभा, उपलब्धि र समर्पण साँच्चै प्रेरणादायी छ ।'
त्यस्तै अध्यक्ष गाहामगरले उत्कृष्ट परोपकारी कार्यक्रम आयोजना गरेको भन्दै इलाम समाज बेलायतका अध्यक्ष टेकवीर राई, सम्पूर्ण टिम र उपस्थितहरुलाई लाई धन्यवाद व्यक्त गरे ।
गायक लामा छिन्नलता पुरस्कार, गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भुषण साथै सयौं पुरस्कार र पदकबाट सम्मानित भएका स्रष्टा हुन् ।