पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोला मिच्ने संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । पोखरा वडा १८, अँधेरीकुनादेखि वडा २, ४, ५, ८, ७, १७ हुँदै वडा ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू ३५ दिनभित्र हटाउन महानगरले सूचना जारी गरेको हो । महानगरले हालैमात्रै प्राविधिक टोली खटाएर स्थलगत नापजाँच गरी मापदण्ड सिमांकन गरि पोल गाडेको थियो ।
३५ दिन भित्र संरचनाहरू नहटाएमा महानगर आफैँले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने महानगरको चेतावनी छ ।
‘फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ प्रतिवेदन अनुसार १ सय ६० संरचना खोलाघरमै बनेको भेटिएको थियो । तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको छ ।
फिर्केखोलाको खोलाघर नापजाँचसम्बन्धीको सो अन्तिम प्रतिवेदन प्राविधिक समिति संयोजक वासुदेव पौडेलले गत ६ असोजमा महानगर प्रमुख धनराज आचार्यलाई उक्त प्रतिवेदन बुझाएका थिए ।
पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाले पोखरा महानगरका ८ वटा वडालाई छुन्छ । बढ्दो सहरीकरण र अतिक्रमणको चपेटामा फिर्केखोला परेपछि महानगरले अस्तित्व खोज्न नापजाँच गरेको हो । नाचजाँचको उद्देश्य फिर्केको वास्तविक अवस्था (खोलाघर) नापी कार्यालयको नक्सा बमोजिम यकिन गर्ने, फिर्के खोलाको जग्गा यकीन गर्ने र खोलाको जग्गामा बनेका स्थायी वा अस्थायी संरचनाको लगत तयार पार्ने थियो ।
कतिपय संरचना शत्प्रतिशत खोलाघरमा बनेका छन् भने कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइएको छ । फिर्के मिच्ने संस्थागत संरचनातर्फ एपिएफको तालिम केन्द्र, बराल समाज घर, पुन समाज घर, कुँवर समाज घर, सोपाल समाज घर, भयरथान महिला समूहको भवनले खोला घर मिचेका छन् । संघसंस्थाका संरचनामध्ये १८ वटा खोलाघर मिचेका छन् । तिनीहरुमा लिटिल स्टेप स्कुलको भवन, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, गिरी समाज घरको शौचालय, सोपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, पोखरा फोटोग्राफर एसोसिएसनको भवन, अर्चलबोट किरियापुत्रीको भवन पुन समाज घर, बराल कुलायन मन्दिर, शिव मन्दिर, राधाकृष्ण आश्रम, लायन्स क्लबको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन, फिर्के तमु समाजको भवनले फिर्के मिचेका छन् ।
फिर्के नाप्दा खोलाघरमा ५ सय ८८ सिमा स्तम्भ गाडिएको छ ।