लन्डन । सांगीतिक भ्रमणमा बेलायतमा रहेकी गायिका बिन्दा परियार छिट्टै नेपाल फर्किने भएकी छन् । उनले नेपाल जानुअघि बेलायतवासी नेपालीहरुलाई प्रत्यक्ष भेट्ने चाहनाले औपचारिक कार्यक्रमसमेत राखेकी छन् ।
गायिका परियारका अनुसार शनिबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा बेलुका ७ बजे बिदाइ तथा सांगीतिक कार्यक्रम हुनेछ । कार्यक्रममा गायिका परियारले विभिन्न सांगीतिक कोसेली पस्कने, बेलायत आमन्त्रण गर्ने र यहाँ रहँदा सहयोग गर्नेहरुलाई धन्यवाद दिनेछिन् ।
'सम्पूर्ण बेलायतवासी आफन्तजन, इस्टमित्र, शुभचिन्तकहरुमा सांगीतिक नमस्कार । बेलायत बसाइको लगभग अन्त्यतिर छु, विशेष म हजुरहरुसँग बिदा भएर जाँदै छु र म बेलायतमा रहँदा हजुरहरुले दिनु भएको अपार माया, साथ सहयोग मुटुभरि छ । तसर्थ मेरो सानो बिदाई कार्यक्रम छ । हुन्छ भने प्रत्यक्ष हजुरहरुसँग भेटेर बिदा हुने अठोट गरेँ । तसर्थ अक्टोबर २८ तारिखमा अल्डरसटस्थित रेस्टुरेन्टमा बेलुका पालिदिनु होला,' उनको आग्रह छ ।
गायिका परियार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले २० मेमा आयोजना गरेको छैटौं लोकदोहोरी स्वर्णिम साँझका निम्ति १४ मे अर्थात् गत जेठ २ गते लन्डन आएकी हुन् । बेलायतमा रहँदा गायिका परियारले किरातीहरुको महान् पर्व उभौली (साकेला), गोर्खा पिस फाउन्डेसन, बगर भाइखलक यूके, धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेटघाट, किहुँ सेरोफेरो समाज यूके, पैँयुखोला मगर समाज यूकेको भेटघाट, गिलुङ समाज यूके, भेरी समाज यूके, संखुवासभा समाज यूके, ओखलढुंगा समाज यूके, सयपत्री नेपाली समाज यूके, बेजिङस्टोक नेपाली समाज दसैं तिहार पार्टीलगायत दर्जनौं कार्यक्रममा प्रस्तुति दिइसकेकी छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ शाखा उपाध्यक्ष समेत रहेकी बिन्दा नोभेम्बर ६ मा स्वदेश फर्कने छिन् ।