पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रमबीच पूर्वअध्यक्ष मोहन घलेलाई स्वागत गरेको छ ।
विगत केही वर्षदेखि जापानमा बस्दै आएका घलेलाई पोखरा आएको मौका पारेर मञ्च गण्डकीले पोखरा रंगशालाको मिडिया सेन्टरमा बिहीबार आयोजित स्वागत कार्यक्रममा स्वागत गरेको हो । कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशंसा गरे । उनले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पूरा गर्दाका दिन स्मरण गरे ।
मञ्चले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा यथाशक्य सहयोग गर्ने उनको वाचा थियो । ‘अवार्ड कार्यक्रम निरन्तर गर्नुपर्छ, बरु खर्चमा कटौती गरौं’ उनले भने ।
खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि नेपालका विभिन्न ठाउँमा रहेका एकेडेमीहरुको अवलोकन भ्रमण गर्न नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्षसमेत रहेका घलेले सुझाए ।
मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्वसल्लाहकार सुदर्शन रन्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य उमेश पुनले नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएका कार्यक्रमसहित आगामी योजनाबारे अवगत गराए ।
यसैबीच यही कात्तिक १५ गते पोखरामा आयोजना गरिने मञ्च गण्डकीको साधारणसभा तथा विधान अधिवेशनको तयारी समेत अन्तिम चरणमा पुगेको महासचिव पौडेलले जनाए । मञ्च गण्डकीमा खेलकुद बिटमा काम गर्ने पोखराका ७४ जना पत्रकार आबद्ध छन् ।