पोखरा । तमु धिं नेपालको ३९ औं वर्षिक साधारण सभा तथा १६ औं महाधिवेशन शनिबार पोखरामा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन संघीय सरकारका सहरी विकास मन्त्री सीता गुरुङले गरिन् ।
उनले मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार लागिपरेको जनाइन् । उनले गुरुङ जातिको कला, संस्कृति, भाषा बचाउन सबै जना लाग्नुपर्ने जनाइन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा भाषा, कला, संस्कृति र संस्कार हस्तान्तरण गर्दै जानुपर्ने उनको सुझाव थियो ।
पोखरा ९, नयाँबजारस्थित संस्थाको कार्यालयमा भएको कार्यक्रमका प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेश सभा सदस्यहरु वेदबहादुर गुरुङ र सरस्वती गुरुङ लगायतले पनि बोलेका थिए ।
यसैबीच, महाधिवेशनको चुनावी कार्यक्रमबाट यसअघि अध्यक्षमा निर्विरोध हुमबहादुर गुरुङले तमु ह्युला छोंज धिंसँग एकताको प्रयास भइरहेको जनाए । महाधिवेशनले गत असोज २५ गते उनको नेतृत्वमा ९ पदाधिकारी निर्विरोध निर्वाचित गरेको थियो । संस्थाको वरिष्ठ उपाध्यक्ष पदमा सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाधयक्ष गिमाया गुरुङ, द्वितीय उपाध्यक्ष नारायण गुरुङ, महासचिव अधिवक्ता जूनाकुमारी गुरुङ, सचिव जुमकाजी गुरुङ, सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ र सहकोषाध्यक्ष सु.तुलबहादुर गुरुङ छन् ।
सो अवसरमा निर्वाचितलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । गोर्खा मिडियाका सम्पादक समेत रहेका हुमबहादुर गुरुङ दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन् ।
पदाधिकारीबाटै विभिन्न जिल्ला, क्षेत्र, लिंग लगायत समावेशीमा आधारमा संस्थागत सिफारिस आधारमा सदस्य मनोनीत हुने छन् ।