पोखरा । तमु धिं नेपाल अध्यक्षमा गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ निर्वाचित भएका छन् ।
संस्थाको ३९ औं साधारणसभा तथा १६ औं महाधिवेशनबाट उनी आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत् निर्वाचित भएका हुन्। उनी यसअघि पनि अध्यक्ष थिए ।
पर्वत जिल्लाको फलेवास नगरपालिका वडा ९, भँगरा घर भई हाल पोखरा निवासी हुम तमु कास्की आवाज दैनिक, फोनिज लगायतका विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन्।
साथै, वरिष्ठ उपाध्यक्षमा सु.मे. श्रीप्रसाद गुरुङ, प्रथम उपाधयक्ष गिमाया गुरुङ, द्वितीय उपाध्यक्ष नारायण गुरुङ, महासचिव अधिवक्ता जूनाकुमारी गुरुङ, सचिव जुमकाजी गुरुङ, सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ र सहकोषाध्यक्ष सु.तुलबहादुर गुरुङ निर्विरोध भए ।
बिहीबार मनोनयनमा अध्यक्षसहित अन्य पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मतको बाटो खुलेको निर्वाचन समितिका प्रमुख शंकर गुरुङले बताए ।
तमु धिं नेपालको विधानअनुसार पदाधिकारीको उम्मेदवारका लागि एक कार्यकाल कार्यसमितिमा रही सेवा गरेको हुनुपर्दछ । कार्यसमिति सदस्यका लागि निर्वाचित पदाधिकारीले विभिन्न जिल्ला, क्षेत्र, लिंग लगायतलाई समावेशीलाई आत्मसाथ गर्दै संस्थागत सिफारिसको आधारमा मनोनयन गर्ने प्रावधान छ ।
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सदस्यमा सल्लाहकार एवम पूर्व महासचिव रुद्रकुमारी गुरुङ मैना र आजीवन सदस्य पत्रकार राजबहादुर गुरुङ छन् ।
तमु धिं नेपालको साधारणसभा तथा महाधिवेशन असोज २७ गते शहरी विकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्यमा पोखराको नयाँबजारस्थित तमु धिं नेपालमा हुनेछ।